धरान: शुक्रबार ४२ औं बिशेष सिनेट बैठकबाट बर्खास्तीमा परेका उपकुलपति डा.राजकुमार रौनियारले स्वास्थ्य मन्त्री उपेन्द्र यादवको अराजकता भएको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार बसेको सिनेट बैठकले बर्खास्त गर्ने निर्णय गरेपछि प्रतिक्रिया दिदै उपकुपलपति रौनियारले आफुलाई सिनेट बैठकमा मन्त्री यादवले बस्न नदिएको र जर्बजस्ती पेलेर बर्खास्तको निर्णय गरेको पनि आरोप लगाए । सिनेटले निर्णय गरेर कुलपतिरहेका प्रधानमन्त्रीसमक्ष सिफारिश मात्र भएको दाबी गर्दै रौनियारले उक्त निर्णय लागु भइनसकेको पनि दाबी गर । ‘निर्णय सिफारिश मात्र भएको हो, लागु भइसकेको छैन,’उपकुलपति रौनियारले भने ।

उपकुलपति रौनियारका अनुसार सिनेट बैठक शुरु भएपनि करिब ५ मिनेटजति आफ्नो कुरा राख्ने मौका दिइएको थियो । त्यसपछि भने मन्त्री यादवले उनलाई बैठकस्थलबाट बाहिर निकालेका थिए । ‘मलाई ५,६ मिनेट मात्र बोल्न दिए, त्यसपछि बाहिर जान भने । बैठकमा के भयो, मलाई छलफलमा बसेर भाग लिनै पनि दिइएन,’टेलिफोन सम्पर्कमा रौनियारले भने,‘बैठकमा भित्र अस्पताल निर्देशकलाई पनि बोल्नै दिइएन रहेछ ।’

बर्खास्त गर्ने निर्णयमा बैठकमा सहभागी सिनेट सदस्यहरुको मत नै नबुझी जर्बजस्ती मन्त्री यादवले निर्णय गराएको उपकुलपति रौनियारको भनाई थियो । उनले मन्त्री यादवले अराजकता प्रस्तुत गरेको आरोप लगाए । ‘बर्खास्त गर्ने निर्णय भयो भनियो, तर गर्ने कि नगर्ने भनेर भोटिङ गरिएनछ, जर्बजस्ती मन्त्रीले निर्णय गराए । यो त अराजकता होइन ?,’उपकुलपति रौनियारले भने । एक सिनेट सदस्यका अनुसार बैठकको अध्यक्षता मन्त्री यादवले गरेका थिए भने उनले नै बैठकको काम, कार्यवाही तथा प्रक्रिया सञ्चालन गरेका थिए । यद्यपी ती सदस्यले बर्खास्त गर्ने निर्णय सर्वसम्मत गरिएको दाबी गरे । ‘बैठकको अध्यक्ष, सचिव जे भने पनि सबै मन्त्री ज्यु कै थियो । तर, निर्णय सर्वसम्मत भएको हो,’ती सदस्यले भने ।