काठमाडौं: कम्युनिस्ट नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको शनिबार राती ८२ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौंस्थित ह्याम्स अस्पतालले अधिकारीको राती ९ बजेर ३५ मिनेटमा निधन भएको औपचारिकरुपमा घोषणा गरेको हो । उनको त्यहाँ १६ दिनदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । विसं १९९३ मा महोत्तरीको भ्रमरपूरामा अधिकारीको जन्म भएको थियो । तर, उनको स्थायी ठेगाना भने मोरङको विराटनगर १० बन्यो । पछिल्लो समय भने उनी ललितपुर सानेपामा बस्दै आएका थिए ।

अधिकारीले अर्थशास्त्रमा एमए र बीएल अध्ययन गरेका थिए । ओमकुमारीसँग विवाह गरेका उनको ३ सन्तान (छोरी) छन् । उनले १६ बर्षको उमेरमा नै २००८ सालमा भारतको बनारसमा रहदा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। पञ्चायतकालमा करिब ४ वर्ष भूमिगत जीवन बिताएका अधिकारी तीन बर्ष निवार्सित पनि भएका थिए । साथै, उनले ३ बर्ष जति नै बन्दी जीवन पनि बिताएका थिए ।

पहिलो पटक अर्थमन्त्री हुदा अधिकारीले ‘आफ्नो गाउँ आफैं बनाऊँ’जस्ता जनता केन्द्रित कार्यक्रम ल्याएका थिए। यस्तै, उनले ल्याएको वृद्धभत्ता कार्यक्रम लोकप्रिय बनेको थियो । ०६१ सालमा उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनेका बेला उनले सुत्केरी भत्ताको समेत व्यवस्था गरेका थिए । उनले नै महिला र पुरुषको नाममा या महिलाको नाममा मात्रै जग्गा दर्ता गर्दा लाग्ने शुल्कमा छुटको व्यवस्था गरेका थिए। ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ भन्ने अभियान पनि उनले नै ल्याएको कार्यक्रम हो । अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक मानिएको छ । अधिकारीले यस्ता थुप्रै लोकप्रिय र महत्वपुर्ण कार्यक्रमहरु ल्याएका थिए ।