धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४२ औं सिनेट बैठकको निर्णय प्रधानमन्त्री कार्यालय पुगेको छ ।

प्रधानमन्त्री प्रतिष्ठानको कुलपति पनि हुने भएकोले निर्णय अनुमोदनको लागि प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीसमक्ष पठाइएको हो । शुक्रबार सिनेट बैठकले उपकुलपति डा.राजकुमार रौनियारलाई बर्खास्त गर्ने लगायत महत्वपुर्ण निर्णयहरु गर्दै कुलपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सिनेट बैठकको माइन्युट तयार गरी प्रधानमन्त्री एवं कुलपतिसमक्ष आइतबार पठाइएको सहकुलपति एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले जानकारी दिए ।

मन्त्री यादवले त्यहाँबाट थप कुरा नआएसम्म सिनेट बैठकको निर्णयहरुबारे केही भन्न नमिल्ने पनि बताए । ‘निर्णयहरु हिजो प्रधानमन्त्री कार्यालय पठाइएको छ, प्रधानमन्त्री प्रतिष्ठानको कुलपति हुन्छ,’मन्त्री यादवले भने,‘प्रधानमन्त्री कार्यालयबाट नआएसम्म केही भन्न मिल्दैन ।’

Rk-rauniyaar-vc-

लामो रस्साकस्सी पछि गएको शुक्रबार बसेको सिनेट बैठकले उपकुलपति रौनियारलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । दुई वटा छानबिन समितिले रौनियारमाथि पदीय मर्दायाअनुसार काम नगरेको साथै अनियमिततामा पनि संलग्न देखाएकोले पदबाट बर्खास्त गर्ने निर्णय गरिएको बताइदै आएको छ । तर, उपकुलपति रौनियारले भने आफुलाई सिनेट बैठकमा बस्न नदिएको र मन्त्री यादवले एकलौटी निर्णय गरेकोले मान्य नहुने बताउदै आएका छन् । उनले आफुलाई हटाउन बहुमत नै नभएको र सचिव केदारबहादुर अधिकारी संयोजक रहेको छानबिन समितिले दोषी देखाएकाहरुलाई जोगाएर आफुलाई कार्वाही गरेको दाबी गर्दै आएका छन् ।