नयाँ दिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि बिहीबार पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

उनको शपथग्रहण समारोहमा सहभागी हुनका लागि बिमस्टेक मुलुकका अतिथिलाई निम्तो गरिएको छ । पहिलो कार्यकालमा मोदीले सार्क मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई शपथग्रहण समारोहमा आमन्त्रण गरेका थिए ।

यसपटक भने उनले बिमस्टेक राष्ट्रको दायराभित्रबाट अतिथि बोलाउँदैछन् । बिमस्टेक राष्ट्रको सदस्यमा सार्क राष्ट्रका तीन सदस्य मुलुक समावेश छैनन् । सार्क राष्ट्रका सदस्य पाकिस्तान, माल्दिभ्स र अफगानिस्तानबाहेक अन्य ५ मुलुक बिमस्टेकमा सदस्य छन् ।

बिमस्टेकमा भारत, नेपाल, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन् । मोदीको शपथग्रहणमा सहभागी हुन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित बिमस्टेक मुलुकका सरकार प्रमुखलाई निम्तो पठाइसकेको भारतीय विदेश मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार पाकिस्तानसँग भारतको सम्बन्ध चिसिएका कारण मोदीले शपथग्रहण समारोहमा सार्कको दायराबाट नभइ बिमस्टेक मुलुकका अतिथिलाई निमन्त्रणा गरेका हुन् । मोदीले निमन्त्रणा गरे पनि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने मोदीको शपथग्रहण समारोहमा अनुपस्थित हुने भएकी छन् । उनी विदेश यात्रामा रहने भएकाले उपस्थित हुन नसक्ने जनाइएको छ । उनी मोदीको अघिल्लो कार्यकालको शपथग्रहण समारोहमा पनि उपस्थित भएकी थिइनन् ।