इटहरी: १२ औँ गणतन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ ले बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

इटहरी १९ मा रहेको गणेशमान स्मृति पार्कमा कांग्रेसले बृक्षारोपण गरेको हो । करिब एक सय भन्दा बढी बिरुवा रोपेर कांग्रेस जाग्दै गएको संकेत दिएको क्षेत्रीय सचिव रमेश पोखरेलले बताए । उनले भने,‘कांग्रेस अब जाग्दैछ, यो बिरुवा हुर्किदैँछ, यो कहिल्यै मर्दैन ।’

कार्यक्रममा संघीय सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सिताराम मेहेताले मुलुकमा अहिले भ्रष्टाचार बढिरहेको बताए । उनले भने,‘अहिले देशमा घोटाला भईरहेको छ, प्रधानमन्त्रीले एकलौत्री शासन गरिरहेका छन् यसकारण पनि जनतामा निराश छाएको छ ।’ उनका अनुसार अहिले देशमा बढेको महिला हिंसा, हत्या जस्ता कुरामा पनि सरकारले दोषीलाई कारबाही गर्न नसक्नुले सरकार निरीह बनेको मेहेताले बताए । उनले भने,‘केही दिन अगाडि मात्रै पाँचथरमा विभत्स हतया, भोजपुरमा हत्या, धरानमै पनि गोली हानेर लुटपाट, सुनसरीका अन्य ठाउँमा पनि गोली प्रहार भईरहेका छन्, दोषी फुत्किरहेका छन्, सरकार के हेरेर बसेको छ ?’

यस्ता कुरामा कांग्रेसले गम्भीर भएर सोच्नुपर्ने र आम मानिसलाई न्याय दिन लागि पर्नुपर्नेमा उनले कार्यकर्ताप्रति ईङ्गित गर्दै भने,‘हत्या, हिंसा दिनानुदिन बढुनुले असुरक्षा बढेको छ, यसले नेपाली कांग्रेसको काँधमा थप जिम्मेवारी आईपरेको छ । कांग्रेसले सहकार्य गरेर सबैलाई सम्मान हकमा ल्याएर जानु आवश्यक छ ।’ कांग्रेसले सबैलाई समान हकमा ल्याएर संघीय गणतन्त्र बचाएको भएपनि अहिले सिके राउत जस्ता देशद्रोही, राजपा र संघीय समाजवादी फोरम नेपालले भने संविधान टुक्राउन खोजेको उनको आरोप थियो । ‘अहिले उनीहरुले संविधान टुक्राउने कुरा गरिरहेका छन्,’ उनले भने, ‘हामीले त्यो समयमा सबैलाई समान रुपले समेटेर गणतन्त्र बचाएका थियौँ, अहिले गणतन्त्र, लोकतन्त्र धरापमा परेको छ ।’

congress 4

कार्यक्रममा क्षेत्रीय सभापति मणिराम श्रेष्ठले कांग्रेसले अहिले आफ्नै खुट्टामा बञ्चरो हानेका कारण जनता दुःखमा रहेको बताए । उनले भने,‘कांग्रेसका साथीहरु आफ्नो गलत काम कहिल्यै देख्नुहुन्न, अरुको मात्र देख्नुहुन्छ ।’ राजनीतिलाई पेशा बनाएकाले नेपाली जनताले सास्ती बेहोर्नुपरेको उनले बताए । इटहरी २० का वडाध्यक्ष समेत रहेका उनले भने, राजनीतिमा आँफूले के योगदान दिईयो त्यो मुल कुरा हो, राजनीतिबाट के लिईयो त्यो होईन, राजनीतिबाट त समृद्ध र खुशी लिनुपर्छ ।

कांग्रेसले आफ्नो पार्टीभित्रका मानिसहरुले मात्रै गलत गरेको देख्ने र अन्य पार्टीले गलत गरेको नदेख्ने औल्याउँदै अहिले इटहरीमा भईरहेको भ्रष्टाचारको कुरालाई कांग्रेसले जोडदार माग उठाउनु पर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग राखे । ‘व्यक्तिगत आक्षेप लगाएर पार्टी कमजोर बन्दै गएको छ, मान्छेलाई कुण्ठित र अपाङ्ग बनाईरहेको छ कम्युनिष्ट शासनले,’ उनले भने,‘ आफ्नो अधिकार कुण्ठित गरेर अरुको भरमा नबस्नुहोस् स्वतन्त्र रुपमा खान, लाउँन पाउनु नै लोकतन्त्र र गणतन्त्र हो ।’