धरान: तलब वृद्धिको माग गरेर आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टहरुको तलब वृद्धि गरेर १५ हजार पुर्याउने निर्णय भएको छ, तर यो निर्णयप्रति आन्दोलनरत इन्र्टनहरुले भने सहमति जनाएका छैनन् ।

आइतबारदेखि काम छोडेर इन्टर्नहरुले धर्ना शुरु गरेपछि प्रतिष्ठानका उपकुलति डा.राजकुमार रौनियारले एक सुचना जारी गर्दै अप्रिल महिनादेखि नै लागु हुने गरी इन्टर्नहरुको मासिक छात्रवृत्ति १५ हजार पुर्याएको जनाएका छन् । इन्टर्नहरुको माग वमोजिम गठन भएको समितिको सिफारिश र कार्यकारिणी समितिको निर्णयको आधारमा मासिक छात्रवृत्ति(तलब) वृत्ति गरिएको उपकुलपति रौनियारले जानकारी दिएका छन् । ‘आगामी दिनमा यस प्रतिष्ठानको हाउस अफिसर पदको तलबमान वृद्धि भएको खण्डमा वृद्धि भएको प्रतिशतको समानुपातिक रुपमा इन्टर्नहरुको छात्रवृत्तिमा समेत वृद्धि गर्नेतर्फ प्रतिष्ठान सकरात्मक रहेको जानकारी गराइन्छ,’रौनियारले जारी गरेको सुचनामा भनिएको छ ।

bpkihs-notice

प्रतिष्ठानले तलब वृद्धि गरेर १५ हजार पुर्याए पनि आन्दोलनरत इन्टर्नहरुले भने त्यसलाई स्वीकार गरेका छैनन् । उनीहरुले ११ हजार ८ सय पाउदै आएका छन् । उनीहरुले नेपाल सरकारको स्वास्थ्यको ८ औं मेडिकल अफिसरको तलबको ५० प्रतिशत पाउनुपर्ने अडान छोडेका छैनन् । ८ औं तहको मेडिकल अफिसरको तलबअनुसार भने उनीहरुले पाउने रकम झण्डै १८ हजार पुग्छ । ‘हाम्रो मागअनुसारकै हुनुपर्छ भन्ने अडान छ । पहिला गठन भएको समितिले हाम्रो मासिक खर्च १९ हजार पुग्छ भनेछ, कि त त्यही अनुसार तलब दिनुपर्छ,’इन्टर्न संघर्ष समितिका संयोजक डा.सञ्जय वरालले भने,‘१५ हजार दिने कुरा छ, हामी सहमत छैनौं ।’

इन्टर्नहरु आन्दोनलमा उत्रिएपछि व्यवस्थापन र उनीहरुबीचमा सहजकर्ताकोरुपमा प्रतिष्ठानका फ्याकल्टी चिकित्सकहरुले सहमति जुटाउन खोजेपनि सफल भएका छैनन् । सहजकर्ताकोरुपमा रहेका डा.पारश पोख्रेलले भने,‘हामी इन्टर्न र भिसिको कुरा आदनप्रदान गर्ने माध्यम मात्र हौं । १५ हजारमा कुरा मिलेको छैन ।’ उपकुलपति डा.रौनियार हाल काठमाण्डौंमा भएकोले पनि सहमति जुट्न सकेको छैन ।

प्रतिष्ठानमा ४ बर्षे एमबिबिएस अध्ययन सकेपछि एक बर्ष इन्टर्न(प्राक्टिस) गर्नुपर्छ । उनीहरुलाई नै इन्टर्न डाक्टर भनिन्छ । इन्टर्नहरुले एक बर्षको समयमध्ये साढे ७ महिना वीपी प्रतिष्ठानमा नै सेवा(प्राक्टिस) गर्नुपर्छ भने बाँकी साढे ४ महिना प्रतिष्ठानको ‘टिचिङ डिस्ट्रिक्ट’मा जानुपर्छ । इन्टर्न भएपनि उनीहरु डाक्टर हुन् । पास आउट भएपछि हरेक बर्ष प्रतिष्ठानमा इन्टर्न डाक्टरहरु भने फेरिएर नयाँ आउछन् । एक बर्ष इन्टर्न डाक्टरहरुको अभ्यास भएपनि उनीहरुले ओपिडी, वार्ड, आकस्मिक कक्षलगायतमा विरामीको जाँच प्रारम्भिक जाँचको सम्पुर्ण काम गर्नुपर्ने भएपनि पाउने तलब ज्यादै न्युन भएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।