काठमाडौं : दरबार हत्याकाण्ड भएको आज १८ वर्ष वितेको छ ।

२०५८ साल जेठ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको कहालीलाग्दो दरबार हत्याकाण्डको रहस्य अझै गर्भमै छ । तत्कालीन राजा वीरेन्द्र शाहको बंशविनास भएको १८ वर्ष पुगेको छ । २०५८ साल जेठ १९ गते भएको कहालीलाग्दो दरबार हत्याकाण्डको नेपालको इतिहासमै डरलाग्दो घटना थियो । तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जना सदस्यको हत्या भएको घटनाले विश्वमै सनसनी मच्चाएको थियो ।

नारायणहिटी दरबार हत्याकाण्डका नामले चिनिने यो हत्याकाण्डको रहस्यका बारेमा अझै नागरिकले विश्वसनीय आधार पाउन सकेका छैनन् । जेठ १९ को शुक्रबारको दिन नारायणहिटी दरबारभित्र राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए । हत्याकाण्डका विषयमा तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र प्रतिनिधिसभाका सभामुख तारानाथ रानाभाट सदस्य रहेको छानबिन समितिले छानबिन गरे पनि त्यसले सही तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टी अझै उत्तिकै छ । सो समितिले तत्कालीन युवराज दीपेन्द्र नै घटनाको मुख्य दोषी भएको किटान गरेको छ । त्यसबारेमा नागरिकले भने अझै प्रश्न उठाइरहेका छन् र विश्वसनीय आधार नभएको भन्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन् । तर, यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानबिन अझै भएको छैन ।