धरान ः प्रदेश सभा र संघीय संसदको निर्वाचन बहिष्कार गरेको नेत्रबिक्रम चन्द (विप्लव)ले चुनाव ताका भोजपुरमा मुख्यमन्त्री(तत्कालिन प्रदेश सांसदका उम्मेदवार) शेरधन राई लक्षित गरेर बम आक्रमण गरेको थियो ।

उक्त आक्रमणमा संलग्न भएको आरोपमा विप्लवका नेता पदम राई पक्राउ परेका थिए । केही समयपछि उनी अदालतको आदेशअनुसार रिहा पनि भएका थिए । जनयुद्धकाल अघिदेखि नै माओवादीमा आवद्ध तिनै विप्लवका नेता राई आज नेकपामा प्रवेश गरेका छन् । राजधानीमा एक कार्यक्रम गरि पुष्पकमल दाहाल प्रचण्डले राईलाई आज पार्टी प्रवेश गराए ।

राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेका थिए भने भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका थिए । उनी एकीकृत नेकपा माओवादी विभाजन भएपछि उनी मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा माओवादीमा लागेका थिए । वैद्यको पार्टी पनि फुटेपछि उनी विप्लव समूहमा लागेका थिए । विप्लव समुहमा जनसरकार उपप्रमुखको जिम्मेवारीमा पनि रहेका उनी जेठ १५ गते गणतन्त्र दिवसको दिन संविधानसभा पदक वितरण समारोहमासमेत सहभागी भएका थिए ।

उनले सरकारसँग वार्ता जारी रहेको र त्यो सकारात्मक ढंगले अघि बढेको प्रतिक्रिया दिएपछि पार्टी नीतिविपरीत बोलेको भन्दै उनलाई पछिल्लो समय पार्टीले निलम्बन गरेको थियो । उनले आफु सुरक्षा खोज्न नभै देश निर्माण गर्न नेकपा प्रवेश गरेको बताए । साथै, पछिल्लो समय विप्लवले अवलम्बन गरेको नीति ठिक नलगेको पनि उनले बताए ।