धरान: उपकुलपतिको कार्यालयमा आन्दोलनरत इन्टर्न डाक्टरहरुले घेराउ र चर्को नाराबाजी गरेपछि अन्ततः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरुसँग सहमति जुटेको छ ।

आन्दोलनरत इन्टर्नहरुले उपकुलपति कार्यकक्षमा अहिले साँझ पनि घेराउ र नाराबाजी गरेपछि पदाधिकारीहरुले सहमति गरेका हुन् । आज दिनभर जसो प्रतिष्ठानले गठन गरेको वार्ता समिति र इन्टर्न डाक्टरहरुबीच वार्ता भएको थियो । उक्त वार्ता समितिले तयार गरेको मस्यौदामा हस्ताक्षर विना नै उपकुलपति कार्यकक्षबाट बाहिरिन खोजेको भन्दै केही अघि आक्रोशित इन्टर्नहरुले उपकुलपति डा.राजकुमार रौनियारलाई कार्यालयबाट बाहिरिन दिएनन् । रौनियार गाडी चढेर क्वार्टर जान लाग्दा इन्टर्नहरुले अवरोध गर्दै चर्को नाराबाजीसमेत गरेका थिए ।

enterns

इन्टर्नहरुले गाडीमा जान नदिएपछि उपकुलपति आफ्नो कार्यकक्षमा नै फर्किएर अन्य पदाधिकारी र वार्ता समितिसँग थप छलफल गरेका थिए । स्थिति तनावपुर्ण बन्ने भएपछि अन्ततः सहमतिमा उपकुलपति डा.रौनियारले पनि हस्ताक्षर गरेका थिए । आज दिनभर वार्ता समिति र इन्टर्न संघर्ष समितिका प्रतिनिधिबीच वार्ता भएर सहमतिको मस्यौदा बनेको थियो ।

उक्त सहमतिमा इन्टर्नहरुलाई मासिकरुपमा १५ हजार नै हुने तर शिक्षण अस्पताल(आइओएम)मा हुने वृद्धिलाई आधार मानि भविष्य प्रतिष्ठानमा पनि वृद्धि गर्ने बुँदा छ । यस्तै, महंगी भत्ताबारे पनि हाल वृद्धि गरिएको १५ हजारको ३ प्रतिशतको दरले हुने रकम मासिकरुपमा उपलब्ध गराउने र नाइट डिउटी गर्दा प्रतिष्ठानको नियमअनुसार खाजा उपलब्ध गराउनेलगायत बुँदा सहमतिमा छ । यो सबै हिसाब गर्दा १५ हजार ४ हजार हाराहारीमा पुग्छ । यसअघि, प्रतिष्ठानका इन्टर्नहरुले १२ हजार मात्र पाउदै आएका थिए ।