धरान: जातीय विभेद उन्मुलन राष्ट्रिय दिवसको अवसरमा जेठ २१ गते धरानमा वृहत आमसभा हुने भएको छ ।

धरान उपमहानगरपालिकाअन्र्तगतको दलित विकास समिति र जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा सबै पक्षको सहभागितामा वृहत आमसभा हुन लागेको हो । समितिले आइतबार पत्रकार सम्मेलन गर्दै विभेद उन्मुलन राष्ट्रिय दिवस मात्र दलित समुदायले मनाउने दिवसरुपमा नभै समाज र राष्ट्रकै दिवस हुनुपर्छ भन्ने उद्देश्यले मनाउन लागिएको जनाएको छ । आमसभामा दलित समुदाय तथा संघसंस्थाहरुसँगै अन्य जातीय संघसंस्था तथा आदिबासी जनजाति, सामाजिक संघसंस्था, वडा कार्यालयहरुले पनि सक्रियरुपमा सहभागिता जनाउने समितिका सदस्य सचिव तारा लामगादेले जानकारी दिए । ‘छुवाछुत तथा जातीय विभेद अन्त्यको अभियानमा सबै साथ छौं भन्ने सन्देश दिनलाई सबैको सहभागितामा यो कार्यक्रम हुन लागेको हो,’उनले भने,‘सबै जातजाति, संघसंस्थाहरु आफ्नो पहिचान र ब्यानरसहित सहभागिता जनाउनेछन् ।’

नेपाललाई २०६३ जेठ २१ गते संसदबाट जातीय विभेद तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो । सोही दिनलाई विभद उन्मुलन राष्ट्रिय दिवसकयेरुपमा नेपालमा मनाइन्छ । यसपाली दलित विकास समितिले धरानमा विशाल आमसभा गर्ने तयारी गरेको छ । भानुचोकमा हुने आमसभाअघि पब्लिक हाइस्कुलबाट र्याली निस्कनेछ । र्याली र सभामा आदिबासी जनजाति, खस समाज, ब्रह्मण समाजलगायत जातिय तथा धार्मिक संघसंस्थाहरुको पनि सक्रिय सहभागिता रहनेछ । कार्यक्रमको अघिल्लो दिन २० गते मोटरसाइकल र्याली हुनेछ भने आमसभामा नाटक, नृत्य र अन्य प्रस्तुती पनि हुने आयोजकले जनाएको छ ।

प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा वक्ताकोरुपमा अनिता परियार, डिबि शाह शंकर, विजय अछामि, रमेश गजमेर, दलमर्दन कामी र सरु सुनार छन् । आफुमा हुने सोच, भावना र व्यहारमा परिवर्तन नआएसम्म जातको आधारमा हुने विभेद कानुन बनाएर मात्र अन्त्य नहुने पत्रकार एवं अधिकारकर्मी दिनेश गजमेरले बताए । उनले भने,‘सोचमा परिवर्तन नआएसम्म जति नै कानुन बनाए पनि र दिवस मनाएपनि विभेद अन्त्य हुदैन ।’ दलित विकास समितिका अध्यक्ष किसोर परियारले जातको आधारमा हुने भेदभाव तथा छुवाछुत अन्त्य गर्न सबै एकजुट गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताए ।