धरान:बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सा तथा दन्तचिकित्सा शास्त्र शिक्षक कल्याण समाजको अध्यक्षमा डा.विष्णु पोखरेल विजयी भएका छन् ।

समाजको आगामी २ बर्षको लागि नयाँ नेतृत्व चयनको लागि सोमबार भएको निर्वाचनबाट पोखरेल विजयी भएका हुन् । उनी हाडजोर्नी विभागका चिकित्सक हुन् । मतदानबाट उनले १४३ मत पाएर विजयी भएका हुन् भने प्रतिद्धन्दी डा.रोशनप्रसाद साह कलवारले मात्र ९३ मत पाएका छन् । मतपरिणाम राती करिब १० बजे घोषणा गरिएको थियो ।

यस्तै, उपाध्यक्षमा डा.शिवेन्द्र झा विजयी भएका छन् । उनी फरेन्सिक विभागका चिकित्सक हुन् । उनले १५७ मत पाए भने प्रतिद्धन्दी डा.विजयादेवी अर्यालले ७२ मत पाइन् । यस्तै, महासचिवमा डा.सुर्यप्रसाद रिमाल विजयी भए । गाइनो विभागका चिकित्सक रिमालले १०८ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी डा.निरज रेग्मीले ८५ मत पाए । यस्तै, सहसचिवमा डा.सन्दीप साहले १३० मत पाएर विजयी भए भने प्रतिद्धन्दी डा.शंकरप्रसाद यादवले ९७ मत मात्र पाए ।

bpkihs

यसैगरी, कोषाध्यक्षमा डा.अञ्जनीकुमार यादवले १३३ मत पाएर विजयी भए भने उनका प्रतिद्धन्दी खुश्बु गोयलले ९९ मत मात्र पाइन् । यस्तै, सदस्य पदमा डा.लक्ष्मण खनाल(१६० मत), डा. मनोज भटराई(१५४ मत), डा.भुपेन्द्र शाह(१५२ मत), डा.निर्मल प्रसाद शाह(१२७ मत) र डा.प्रकाश मादेन लिम्बू(११६ मत) विजयी भए । मात्र ५ जना सदस्यको सिटमा ११ जनाले उम्मेद्वारी दिएका थिए । मतदानबाट चयन भएको नयाँ कार्यसमितिमा सहसचिव र कोषाध्यक्षबाहेक सबै अध्यक्ष डा.पोखरेलको प्यानलका हुन् ।