इटहरी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले बर्तमान केपी ओलीको सरकारले संविधानको मर्ममाथि प्रहार गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन सुनसरीले बिहीबार इटहरीमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै नेता आचार्यले बर्तमान ओली नेतृत्वको सरकारले संविधानको मर्ममाथि प्रहार गरेको बताएका हुन् । 'सत्तारुढ दलबाटै प्रधानमन्त्रीमाथि अविश्वास रहेको छ,'उनले भने,'प्रचण्ड जी ले केपी ओली प्रधानमन्त्री भएको दुई बर्ष पनि नबित्दै अब म प्रधानमन्त्री हो, तपाईँले कुर्सी छाड्नुपर्छ भन्ने कुरा आईरहेको छ, यो संविधानमाथिको प्रहार हो ।'

कांग्रेसको संसदमा आफ्नो शक्ति साँघुरिएको बताउँदै उनले कांग्रेसले हरेक क्षेत्रमा सबैलाई समेटेर गएको उल्लेख गरे । उनले भने, अहिले कांग्रेसले आयोजना गरेको राष्ट्रिय जागरण अभियान भनेको पार्टीको आन्तरिक सम्बन्ध सुदृढिकरण गर्नु पनि हो । उनले पार्टी भित्रैका नेताहरुबीच पनि सम्बन्ध चिसिएका कारण कांग्रेसले चुनावमा पराजित गर्नुपरेको बताए । 'अहिले पार्टीमा नेतृत्वको क्षमतामा प्रश्न उठिरहेको छ,' उनले भने,'नेतृत्वको क्वालिटीमा सुधार गरेमा गुटको अन्त्य पनि हुन्छ ।' पार्टीभित्र गुट रहेका कारण पनि पार्टी बलियो बन्न नसकिरहेको बताउँदै उनले यसलाई राष्ट्रिय एजेण्डा बनाएर बहस गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सिताराम मेहेताले अहिले सरकारले मिडिया विधेयक संसदमा दर्ता गरेको र यसले पत्रकारमाथि समाचार संकलन गर्ने कुरामा अंकुश लगाएको उदृत गर्दै उनले यसको विरोध गर्ने बताए । उनले आँफूबाट गर्नुपर्ने काम गर्नेमा जोड दिदैँ आँफूहरुले पार्टी र युनियनको सम्बन्ध सुमधुर बनाउन लागेको बताए । त्यस्तै, प्रदेश १ का संसदीय दलका नेता राजीब कोईरालाले पार्टी र युनियनबीचको सम्बन्ध सुमधुर रहेका कारण आगामी दिनमा यसलाई सच्चिएर जाने बताए । उनले भने, कांग्रेस पार्टीले गरेका कामको बारेमा प्रचार नगर्दा हार व्यहोर्नुपरिरहेको छ ।

कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, पत्रकार महासंघ सुनसरी अध्यक्ष अमर खड्का, कांग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेल, कांग्रेस नेतृ बिमला ढकाल, कांग्रेस महाधिबेशन प्रतिनिधि गीता श्रेष्ठ लगायतले कार्यक्रममा बोलेका थिए । कार्यक्रममा नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले पार्टी र युनियनबीच समन्यव नभएको बताए । उनले भने,'पार्टी र समन्वय गर्ने कुरामा कमजोरी रहेको छ, यसलाई मजबुद बनाएर अब अगाडि बढाउने पक्षमा दुवै पक्ष गम्भीर हुनुपर्छ ।' कांग्रेस र युनियनबीचको सम्बन्ध औपचारिकतामा मात्रै सीमित रहेकाले यो बिषयमा बहस गर्नुपर्नेमा जोडदिए ।