काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोलीको साथबाट लुटेर दुरबिन कब्जा गरेका छन् ।

सगरमाथाको उचाइ नाप्न छनोट गरिएका १२ वटा ‘प्वाइन्ट’ (बिन्दु) मध्ये खोटाङ लौरेडाँडामा पुगेका सरकारी अधिकारीबाट खोसेर विप्लवका कार्यकर्ताले बाइनाकुलर (दुरबिन) कब्जामा लिएका हुन् । यही जेठ ७ गते लौरेडाँडा पुगेका सरकारी अधिकारीहरूबाट विप्लवका कार्यकर्ताले दुरबिन लुटेको खबर पाएपछि प्रहरीले त्यस क्षेत्रमा खोटाङ र सोलुखुम्बुबाट सुरक्षाकर्मी खटाएको थियो । सगरमाथाको उचाइ नाप्न गएको टोलीका सदस्यले भने यो घटना गुपचुप राखेका छन् । ‘मन्त्रालयमा त्यसको जानकारी भएको छ। तर, बाहिर ल्याउन आवश्यक ठानिएन।’ भूमि तथा व्यवस्था मन्त्रालयका एक उपसचिवले भने, ‘त्यहाँ हाम्रा साथीलाई थ्रेट भयो भनेर प्रदेश प्रहरीलाई भन्यौं ।’ नागरिक दैनिकबाट