सुनसरी: प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले छुवाछुत मुक्त प्रदेश कार्यान्वयनका लागि सबै एकजुट भएर लाग्न आह्वान गरेका छन् ।

छुवाछुत मुक्त प्रदेश अभियान अन्र्तगत आज (शुक्रबार) जिल्ला समन्वय समिति सुनसरीले इनरुवामा गरेको कार्यक्रममा मन्त्री घिमिरेले यस्तो आह्वान गरेका हुन् । छुवाछुत दलित समुदायकोमात्र समस्या नभएर सबैको समस्या भएकाले यसको अन्त्यका लागि सबै जाति र समुदाय लाग्नुपर्ने उनको भनाई थियो । मन्त्री घिमिरेले छुवाछुतको अन्त्यका लागि कानुन र सजाय नभएर मनमस्तिष्कबाट छुवाछुतको भावना हटनुपर्ने पनि बताए । दण्ड सजायले भन्दा चेतनाले छुवाछुतको अन्त्य गर्ने बताउँदै उनले प्रदेश सरकारले प्रदेश १ का सबै जिल्लामा जागरणको अभियान थालेको बताए ।

सामाजिक विकास मन्त्रालयले दलित तथा पछाडी परिएको समुदायमा मानिसको विकासका लागि बालबालिकालाई छात्रवृत्रि, युवालाई रोजगारी र परम्परागत पेशाको संरक्षर र व्यवसायीकरणका लागि आगमी बजेटमा कार्यक्रमहरु ल्याउन लागिएको पनि उनले जानकारी दिए । छुवाछुत मुक्त राष्ट्र घोषणा भएको करिव डेढ दशक भएको र दण्ड सजायका लागि कानुन बनेको दशक बितिसक्दा पनि छुवाछुत कायमै रहेको भन्दै मन्त्रि घिमिरेले छुवाछुत अन्त्यका लागि सबैको सहभागीतामा अभियान चल्नुपर्ने बताए ।
कार्यक्रममा विभिन्न दलित अभियानकर्मी, विभिन्न राजनीतिक दलका नेता, नगरपालिकाका प्रमुखहरुलगायतले छुवाछुत अन्त्यका लागि जनजागरण आवश्यक भएकोमा जोडदिएका थिए ।