धरान:नवौं अन्र्तराष्ट्रिय एकल महिला दिवस आइतबार सुनसरीका एकल महिलाहरुले पनि धरानमा भेला भएर मनाएका छन् ।

संयुक्त राष्ट्रसंघले सन् २०१० मा जुन २३ लाई एकल महिला दिवसकोरुपमा मान्यता दिएको थियो । त्यसयता विश्वभरि जुन २३ मा एकल महिलाहरुले दिवसकोरुपमा मनाउदै आएका छन् । नेपालमा वि.स.२०५५ सालदेखि लिली थापाको नेतृत्वमा एकल महिलाहरुको अधिकारको लागि अभियान एवं आन्दोलन शुरु भएको थियो । अहिले या अभियान देशव्यापी मात्र भएको छैन, अढाई दशकअघि रातो टिका र साडी लगाउन नसक्ने अवस्थामा धेरै परिवर्तन आइसकेको छ । साथै, सामाजिक र कानुनीरुपमा पनि सम्मान र अधिकार एकल महिलाहरुले पाएका छन् ।

अब भने एकल महिलाहरुको एजेण्डा सीप र क्षमता अभिवृद्धि गर्दै आत्मनिर्भर हुनुपर्ने महिला अधिकारकर्मीहरुले बताएका छन् । धरान १७ स्थित एकल महिला छहारी भवनमा दिवस मनाउने क्रममा अब एकल महिलाको प्रमुख मुद्दा आर्थिक सशक्तीकरण भएकोमा जोडदिए । कार्यक्रमकी प्रमुख अतिथि एवं प्रदेश नं १ की सांसद उमिता बराइलीले वृद्ध महिला, बालबालिका र एकल महिलाहरुको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने धारणा राख्दै सीपमुलक तालिम लिने मात्र नभएर अब स्वरोजगार बन्न पनि ध्यान दिनुपर्ने बताइन् । उनले महिलाहरुलाई स्वरोजगार बनाउन, उत्पादनसँग जोडिन आवश्यक भएको बताइन् ।

aIMG_8768

उनले महिलाहरुमा राजनीतिक, साँस्कृतिकरुपमा परिवर्तन आए पनि अझै ५० प्रतिशत अधिकार सबै क्षेत्रमा ग्यारेण्टी हुनुपर्छ भन्ने माग महिलाहरुले निरन्तर उठाइरहनुपर्ने बताइन् । महिलाहरुले ३३ प्रतिशतमा चित्त बुझाएर बस्दा अघि बढ्न नसक्ने उनले बताइन् । धरान उपमहानगरपालिकाकी सामाजिक विकास महाशाखा प्रमुख प्रज्ञादेवी निरौलाले महिलामाथि हुने हरेक किसिमका विभेदलाई चिर्दै जानुपर्ने बताइन् । भौतिक विकासलाई मात्र विकास मान्ने मानसिकतामा पनि परिवर्तन ल्याउनुपर्ने धारणा राख्दै उनले सामाजिक विकास पनि अनिवार्य हुनुपर्ने बताइन् ।

महिला सञ्जाल धरानकी अध्यक्ष एवं समुहकी संस्थापक अध्यक्ष सविता राईले अढाई दशकको अभियान र आन्दोलनले एकल महिलाहरुको सामाजिक, राजनीतिक र साँस्कृतिकरुपमा सम्मानजक अवस्था बनेको उल्लेख गर्दै अब आर्थिकरुपमा सबल बन्नुपर्ने बताइन् । ‘अब खुद्रे तालिम दिएर मात्र हुदैन, उत्पादनमुलक र आयआर्जन गर्ने हुनुपर्छ । घरेलु उद्योग सञ्चालन गर्ने र स्वरोजगार बन्ने एकल महिलाहरुको अबको मुद्दा हो,’उनले भनिन् । कानुनीरुपमा धेरै अधिकार स्थापित भएको खुलाउदै उनले एकल महिलाहरुको छोराछोरीलाई उच्चशिक्षामा छात्रवृत्ति दिलाउन, एकल महिलाहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्न र युवा एकल महिलाहलाई आत्मनिर्भर बनाउन सरकारले बिशेष ध्यान दिनुपर्ने बताइन् ।

aIMG_8755

संस्थाबारे परिचय दिदै इन्द्रकला राईले पनि श्रीमान्को मृत्युपश्चात एकल महिलाहरुलाई घरपरिवारको जिम्मेवारी आइलाग्ने भएकोले अब आर्थिक सशक्तीकरणको मुद्दा नै प्रमुख भएको बताइन् । ‘अब आर्थिक सशक्तीकरणको मुद्दा प्रमुख बनेको छ । सीप र सक्षता बढाएर आत्मनिर्भर बन्ने हुनुपर्छ । सरकारले पनि श्रीमान्को मृत्यु भएमा एकल महिलालाई जब रिप्लेसमेन्ट हुने व्यवस्था गर्नुपर्छ,’उनले भनिन् ।

कार्यक्रममा महिला अधिकारकर्मी तथा नेपाल महिला मगर संघ, १ नं प्रदेशकी अध्यक्ष मिना पुलामी मगरलाई अभिनन्दन पनि गरिएको थियो । महिला अधिकार स्थापित गर्न र समाजसेवामा पुर्याएको योगदानको कदर गर्दै समुहले उनलाई सम्मान गरेको जनाएको छ । संस्थाकी कार्यवाहक अध्यक्ष शान्तादेवी अधिकारीले दोसल्ला ओढाएकी थिइन् भने प्रदेश सांसद वराइलीले अभिनन्दन पत्र प्रदान गरेकी थिइन् । सोही कार्यक्रममा समुहले स्थापना गरेको कोषको ब्याजबाट एकल महिलाका छोराछोरीहरुलाई छात्रवृत्ति नगद पनि प्रदान गरिएको थियो ।