काठमाण्डौं : नेपाल यातायात मजदुर संगठनले देशका ६ वटा प्रदेशमा गरेको रक्तदान कार्यक्रममा १ हजार १२ जनाले रक्तदान गरेको जनाएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष भिमज्वला राईका अनुसार प्रदेश नं १ मा ३ सय ४४ जनाले रक्तदान गरेका छन् भने प्रदेश नं २ मा ५० जनाले, प्रदेश नं ३ मा २ सय ९९ जनाले रक्तदान गरेका छन् । यस्तै, गण्डकी प्रदेशमा ९२ जना, प्रदेश नं ५ मा १ सय ४४ जनाले तथा सुदुरपश्चिम प्रदेशमा ८३ जनाले रक्तदान गरेका छन् । कर्णाली प्रदेशमा भनें रक्तदान कार्यक्रम आयोजना नभएको संगठनले जनाएको छ ।

काठमाडौंमा गरिएको रक्तदानमा ७ सय मजदुरको स्वास्थ्य परिक्षण पनि भएको संगठनका अध्यक्ष राईले बताए । संगठन केन्द्रीय कमिटीले देशव्यापाी कार्यक्रमका साथ आफ्नो स्थापना दिवस मनाएको हो । देशका विभिन्न ठाउँमा यातायात मजदुरको स्वास्थ्य परीक्षण, रक्तदान, सरसफाईका कार्यक्रम सहित दिवस मनाइएको अध्यक्ष राईले बताए ।

संगठन गर्व गर्न लायक: पुर्वप्रधानमन्त्री नेपाल

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल यातायात मजदुर संगठन नेपालका मजदुरहरुको सवैभन्दा प्रभावशाली संगठन भएको भन्दै यसको सदस्य संख्या आफैंमा गर्व गर्न लायक रहेको बताए । संगठनको ४० औं स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका बरिष्ठ नेता नेपालले १ लाख ६० हजारको हाराहारीमा शुल्क तिर्ने सदस्य हुनुले यातायात मजदुर संगठनको शक्तिलाई प्रदर्शित गर्ने भन्दै संगठनलाई जीवन्त राख्न नियमित रुपमा वैचारिक प्रशिक्षणहरु सञ्चालन गरिरहन सुझावसमेत दिए ।

उनले वितेका ४० बर्षमा यातायात मजदुरहरुले आफ्नो पेशागत अधिकार तथा राजनीतिक अधिकार प्राप्तीका लागि गरेको लडाईंलाई नेपालका राजनीतिक दलहरुले उच्च मूल्याङ्कन गर्नुपर्ने पनि बताए । यातायात मजदुर संगठनको प्रयत्नकै कारण हिजोका दिनमा भन्दा अहिले यातायात मजदुरहरु प्रति हेर्ने दृष्टिकोण बदलिएको भन्दै पेशालाई सम्मानित बनाउन उल्लेख्य भूमिका खेलेको भन्दै प्रशंसा पनि गरे ।

नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले कामप्रतिको सम्मानमा वृद्धि गर्न जरुरी रहेको धारणा राखे । उनले काम गरेर खानेले लाज मान्न नहुने भन्दै ठगि खानेहरुले मात्र लाज मान्नु पर्ने विचार राखे । जिफन्टका पूर्व अध्यक्ष एवं सांसद मुकुन्द न्यौपानेले नेपालमा राजनीतिक परिवर्तन भएपनि आर्थिक परिवर्तन हुन बाँकी नै रहेको भन्दै अव त्यसका लागि भूमिका खेल्ने समय आएको धारणा राखे ।

जिफन्ट अनुशासन आयोग प्रमुख विष्णु लम्सालले यातायात मजदुरको जीवन समृद्ध बनाउन संगठनले खेल्दै आएको भूमिकाको प्रशंसा गरे । जिफन्ट उपाध्यक्ष दिपक पौडेलले जिफन्टको खम्वाका रुपमा रहेको यूनियनले ४० औं स्थापना दिवस मनाइरहँदा अनौपचारिक क्षेत्रमा कसरी सामाजिक सुरक्षा लागु गर्न सकिन्छ भनेर सरकारलाई बाटो देखाउन जरुरी रहेको धारणा राखे ।

कार्यक्रममा अध्यक्षको किनोट प्रस्तुत गर्दै संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले संगठनका अग्रज नेताहरुको योगदानको स्मरण गर्दै थुप्रै चुनौतिसँग लड्दै संगठन अहिलेको अवस्थासम्म आईपुगेको स्मरण गरे । अवको कम्यूनिष्ट पार्टीभित्र मजदुरको बाहल्यता हुनुपर्ने भन्दै यातायात मजदुरका समस्याको फेहरिस्त प्रस्तुत गरे । कानून बनाउने विषयमा पनि धेरै कुरा सुधार गर्नुपर्नेमा उनको जोडथियो ।

यातायात मजदुरहरुलाई आर्थिक सहयोग

संगठनले आफ्नो स्थापना दिवसको अवसरमा केही मजदुरहरुलाई उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सो अवशरमा अरनिको ट्रक ईकाईका तर्फबाट शशी खड्का(४२ हजार), नरेन्द्र श्रेष्ठ(४० हजार), टीकाराम गुरुङ(३७ हजार), सोमवारे तामाङ(२२ हजार १ सय ४), टीकाराम दमाई(७ हजार २ सय) सहयोग गरेको थियो । यसैगरी बसपार्कमा बुकिङको काम गर्ने अर्जुन बस्नेतलाई संगठनको केन्द्रीय कमिटीका तर्फबाट रु १५ हजार उपचार खर्च हस्तान्तरण गरिएको संगठनले जनाएको छ ।