धरान: १ नं प्रदेशमा सडक सभ्यता एवं सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले शुक्रबार बिहान धरानस्थित गोर्खा डिपार्टमेन्ट स्टोरमा मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा कार्यक्रम भइरहेको थियो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, धरानकी कार्यवाहक मेयर, मोरङ र सुनसरीका प्रजिअलगायत पनि डाइसमा थिए । कार्यक्रममा धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी बोल्दै गर्दा मात्र इटहरीका मेयर द्धारिकलाल चौधरी ढिला गरी पुगेका थिए । भण्डारी पछि बोल्ने पालो इटहरीका मेयर चौधरीको आयो । उनलाई सभाध्यक्ष एवं डिआइजी ठाकुरप्रसाद ज्ञवालीले छोटो मन्तव्य राख्न आग्रह गरेका थिए । चौधरीले भने डिआइजीले यसो भन्नु भएको छ, भन्दै भाषण शुरु गरे । शुरुमा नै हल हासोले गुञ्जियो ।

स्थानीय तहले काम गर्ने सिलसिलामा आइपरेको बाधा, समस्याको फेहरिस्त प्रस्तुत गर्दै मेयर चौधरीले सडक विस्तारमा आफुले प्रदेश सरकारबाट पनि सहयोग नपाएको गुनासो गरे । उनले प्रदेश सरकारसँग भर लाग्न छोडेको भन्दै कटाक्ष पनि गरे । मुख्यमन्त्री र मन्त्रीतर्फ हेर्दै उनले भने,‘मुलुक बनाउने हो भने ठुलो त्याग चाहिन्छ ।’ मन्त्रीहरुले भाषण धेरै गरेको भन्दै उनले ‘देश बनाउन बुद्ध चाहिने हो भने राजपाठ त्याग गर्नुपर्छ, घरबार त्याग गर्नुपर्छ ।’ यति भनेर उनले मुख्यमन्त्री राईतर्फ हेर्दै फेरि भने,‘मुख्यमन्त्रीले त घरबार त्याग्नै पर्दैन, समस्या हामीलाई छ ।’ मुख्यमन्त्री राई अविवाहित छन् ।

IMG_9023

मेयर चौधरीले यसो भन्दा हल फेरि हाँसोले गुञ्जियो । मञ्चमा आसिन मुख्यमन्त्री राईले पनि हाँसो थाम्न सकेनन्, विस्तारै मुस्कुराए । मेयर चौधरीले भाषण सुनाउन मात्र मान्छे भेला पारेर नहुने भन्दै काम गर्ने प्रतिवद्धताको पनि खाँचो रहेको बताए । स्थानीय तहलाई सरकार नै नमानेको भन्दै उनले सडक विभागले काम नगर्दा त्यसको दोषको भागिदार जनप्रतिनिध हुनु परिरहेको र आफुहरुविरुद्ध फेसबुकमा जनताले आक्रोश पोख्ने काम भइरहेको भन्दै सरोकारवालाहरु सबैले आआफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने पनि बताए ।