सर्लाही: पूर्व–पश्चिम राजमार्गमा अवरोध गरेर प्रदर्शन गरिरहेकामाथि प्रहरीले गोली चलाउदा एकको मृत्यु भएको छ ।

बाँके जङ्गल खण्डमा प्रहरीले चलाएको गोली लागेर इश्वरपुर नगरपालिका १३ का २७ बर्षीय देवन महतोको घटनास्थलमा नै मृत्यु भएको हो । अर्का एक जना पनि घाइते भएको स्थानीयको दाबी छ । मृतक महतोको टाउकोमा गोली लागेको बताइएको छ । यद्यपी, प्रहरीले उनको मृत्यु भएको पुष्टि गरिसकेको छैन । झडपमा परी प्रहरीतर्फ पनि झण्डै एक दर्जन घाइते भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । ढुंगाले प्रहरी जवान कृष्णप्रसाद काफ्नको ४ वटा दाँत झरेको छ भने अनयको चिउँडो, हात, खुट्टा लगायतमा चोट लागेको छ ।

स्थानीयले मध्यान्ह १२ बजे देखि पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरेका थिए । प्रहरीले राजमार्ग खुलाउने क्रममा झडप दिउँसो २ बजे तिर भएको हो । बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर एक बालको मृत्यु भएको थियो । सोही घटनालाई लिएर स्थानीयबासीले आज प्रर्दशन गरेका थि । उनीहरुले १२ वर्षीय बालक अमित रायको शव राजमार्गमा ल्याएर प्रदर्शन गरेका थिए । प्रहरीले गोली चलाएपछि प्रदर्शनकारीहरु तितर वितर हुदै भागेका थिए । अहिले सवारी आवागमन सुचारु भइसकेको छ ।