संखुवासभा: संखुवासभाको सिलिचोङ गाउँपालिका १ स्थित ह्वाङ भन्ने ठाउँमा प्रहरी र नेत्रबिक्रम चन्द विप्लवका कार्यकर्ताहरुबीच गोली हानाहान भएको छ ।

गस्तीमा रहेको प्रहरी टोली र चन्दका कार्यकर्ताबीच बिहान करिब साढे ९ बजेतिर दोहोरो गाली हालाहान भएको बताइएको छ । घटनाको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी मिमबहादुर लामाले पुष्टि गरेका छन् । घटनाका प्रहरीतर्फ कुनै क्षति नभएको पनि उनले प्रष्ट पारे ।

प्रहरीका अनुसार सशस्त्र प्रहरीसहितको संयुक्त गस्ती टोली र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको हो । विप्लवका कार्यकर्ताहरुले गस्ती टोलीमाथि गोली चलाए पनि प्रहरीले पनि जवाफी फायरिङ गरेको प्रहरीले जनाएको छ । अहिले उक्त टोलीसँग सम्पर्कको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले जानकारी दिए ।