काठमाडौं:विवाह पछिको अवैध सम्बन्ध । त्यही सम्बन्धको पोल खुल्ने डरले जन्म दिने आमाको पनि हत्या । सुन्दा अनौठो लाग्ने यो घटना नेपालकै हो । विवाहेत्तर सम्बन्धले नेपाली समाजमा भएको एउटा जघन्य अपराधको सोमबार प्रहरीले पर्दाफास गरेको छ ।

यो घटनाको मुख्य पात्र हुन्, भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीकी ईश्वरी भट्टराई । श्रीमान् हुदाहुदै उनको सम्बन्ध गार्मेन्ट कारखानामा काम गर्ने सिरहाका मोहमद नौसादसँग झ्यागियो । उनीहरुको सम्बन्ध यति प्रगाढ भयो कि इश्वरीकी आमा सावित्री थापालाई छोरी ज्वाईको घरबार बिग्रने चिन्ताले सतायो । त्यसैले उनले एक लाख दिएर नौसादलाई विदेश पठाइदिइन् । तरपनि केही पार लागेन । अन्त्यमा सावित्रीले नै ज्यान गुमाउनु पर्यो ।

प्रहरीका अनुसार २७ वर्षीया ईश्वरी र सोनाम थापा मगरबीच करिब ९ बर्षअघि विवाह भएको थियो । दुवैको घरबार राम्रो चलिरहेको थियो । सोनाम एयरपोर्टमा होटल चलाउथे भने इश्वरी गार्मेन्टमा काम गर्थिन् । त्यसैले इश्वरी र नौसादबीच इश्वरी र नौसादबीचको सम्बन्ध बढेको सोनामले थाहै पाएनन् । सावित्री छोरी(इश्वरी)ज्वाईको घरमा बस्दै आएकी थिइन् । नौसाद घरमा बाक्लै आउजाउ गर्न थालेपछि आमा सावित्रीले भने छोरी र नौसादको सम्बन्धबारे चाल पाएकी थिइन् । उनले नै 'ज्वाईलाई भनिदिने' भन्दै छोरीलाई सजग पनि गराइन् ।

प्रहरीका अनुसार इश्वरीका आमा सावित्रीले पैसा दिएर नौसादलाई युएई पठाए पनि उनीहरुबीच सामाजिक सञ्जालमार्पत नियमित सम्पर्क हुनेगरेको थियो । दुवैको सम्बन्ध टाढिनुमा आमा मुख्य कारण भएको ठानेर हत्या गर्ने योजना बनाएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

भारतबाट कन्ट्राक्ट किलर ल्याएर हत्या

mother-murder-biktim

आफु एक्लैले हत्या गर्न सम्भव नदेखेपछि नौसादले भारतबाट दुई जना कन्ट्राक्ट किलर ल्याएर सावित्रीको हत्या गरेको प्रहरीको भनाई छ । असार १० गते नेपाल आएका नौसादले भारतबाट भोलाकुमार र मोहम्मद रसिद नेपाल ल्याए । आफ्नै छोरीको संलग्नतामा हत्याको योजनाबारे सावित्रीलाई कुनै भेउ थिएन । हत्याको पुर्वयोजना अनुसार आइतबार बिहान इश्वरी दिदीको घरमा जान्छु भनेर हिडेकी थिइन् । वृद्धा सावित्राले नातिलाई स्कुल पुर्याएर घरमा एक्लै बसिरहेकी थिइन् । त्यही बेला नौसादसहित ३ जना घरमा पुगेका थिए ।

पक्राउ परेकाहरुले दिएको वयान अनुसार ६० बर्षीया सावित्राको नौसादले मुख थुनेका थिए भने अर्जुनले हात समाएका थिए । यस्तै, रहिशले घाँटी रेटेर हत्या गरेका थिए । घटनापछि धादिङको गजुरी पुगेका नौसाद आइतबार साँझ नै पक्राउ परे । उनले सावित्रीको हत्यामा छोरी ईश्वरी नै संलग्न भएको वयान दिए भने १२ लाख दिने सर्तमा भारतीय कन्ट्रयाक्ट किलर ल्याएको पनि खुलाए । भारतीय अपराधीहरु पनि मकवानपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।