धरान: फेसबुक स्टाटसलाई लिएर पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका दुई बिद्यार्थी संगठनबीचको विवाद चर्किएको छ ।

फेसबुक स्टाटसको विषयलाई लिएर नेकपाको भातृसंगठन अनेरास्ववियुका विद्यार्थीले कांग्रेसको भातृसंगठन नेविसंघका एक विद्यार्थी नेतामाथि हातपात गरेको घटना चर्किएको हो । नेविसंघका नेता धर्मेन्द्र यादबमाथि अखिलका इकाई अध्यक्ष सुमन दाहालसहितको समुहले हातपात गरेको दाबीसहित कारबाहीको माग गर्दै आज नेवि संघले क्याम्पसअघि खबरदारी सभा गरेको छ । यादवलाई हातपात भएको घटनाप्रति क्याम्पस प्रशासन र प्रहरी मौन बसेको भन्दै नेविसंघले आज खबरदारी सभा आयोजना गरेको हो ।

खबरदारी सभाको क्रममा तीनकुनेस्थित क्याम्पसअघि कोशी राजमार्गमा करिब आधा घण्टा सवारी आवागमनसमेत ठप्प बनेको थियो । सभामा कांग्रेसका जिल्ला र नगरका नेताहरुको पनि सहभागिता रहेको थियो । उनीहरुले सडक जाम गरेर नाराबाजीसमेत गरेका थिए । ‘दोषीलाई कारबाही गर, टोले गुण्डा मुर्दाबाद, नालायक प्रशासन राजीनामा दे ' लगायतको चर्को नाराबाजी समेत गरेका थिए ।

nebi-sangh-chakka-jam

खबरदारी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सुनसरी सचिव सुजेन्द्र गोलेले विद्यार्थीहरुले भयरहित रुपमा पढ्न पाउनुपर्ने बताए । उनले ५ दिन भित्र आक्रमण गर्नेलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउन माग  गरे । ‘आक्रमण गर्ने सुमन दाहालको समुहलाई ५ दिन भित्र पक्रेर कानुनी दायरामा ल्याउनु पर्यो,’उनले भने,‘प्रहरीले सक्दैन भने हामी आफै पक्रेर प्रहरीलाई बुझाउछौं ।’ कार्यक्रममा नेविसंघका क्याम्पस इकाइ सचिब पवन कार्कीले क्याम्पसमा विद्यार्थीहरु दिनप्रतिदिन असुरक्षित बन्दै गएको बताए ।

विद्यार्थीहरुलाई क्याम्पस प्रशासन र स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभुति गराउनुपर्ने भन्दै पटक-पटक धरान उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएपनि बेवास्ता गरिएको बताए । पछिल्लो समय स्थानीय टोले गुण्डाहरुबाट विद्यार्थीहरु असुरक्षित भएको उनले बताए । कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापती तिलक राईलगायत स्थानीय नेता, विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।

के हो विवाद ?

nebi-sangh-bibad

अनेरास्ववियुले केही दिनअघि क्याम्पस हाताभित्र रहेको खेल मैदानमा खानेपानीको धारा निर्माण गरेको थियो । त्यो धारा भत्काएपछि अनेरास्ववियुले विज्ञप्ती निकालेको थियो । अनेरास्ववियुले विज्ञप्ती निकालेपछि नेविसंघका विद्यार्थी नेता यादबले ‘आफै धारा बनाएर आफै भत्कायो’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । उनको यो स्टाटस पोष्ट भएपछि विवाद शुरु भएको थियो ।

अनेरास्ववियुका अध्यक्ष दाहालसहितको समुहले स्टाटसको विषयमा छलफलमा बोलाएर यादवमाथि हातपात गरेको नेविसंघका क्याम्पस इकाइ कार्यबाहक सभापति कुशल घिमिरेले बताए । ‘स्टाटस लेखेको विषयमा धर्मेन्द्र यादबलाई छलफलमा बोलाइयो, तर छलफल नै नगरी उनीमाथि कुटपिट भयो,’नेविसंघका कार्यबाहक सभापति घिमिरे भने,‘छलफलमा बोलाएर अखिलका अध्यक्षसहित टोले गुण्डाहरु भेला भएर कुटपिट गरेको छ ।’

घटनाबारे प्रहरीलाई खबर गरेपनि बेवास्ता गरिएको उनले बताए । दोषीलाई प्रहरी प्रशासनले कानुनी दायरामा ल्याएर कारबाही गर्न उनले माग गरे । उनले क्याम्पस प्रशासनसँग पनि कुनै स्विकृति नलिइकन धारा जडान गरिएको दाबी गरे । उनले भने,‘कतैबाट स्वीकृति नलिई धारा जोडिएको छ, प्रहरीले कारबाही गर्न सक्दैन भने क्याम्पस प्रशासनले क्याम्पसबाट निलम्बन गर्नुपर्यो ।’ तीन वर्ष अगाडी नेवीसंघले धारा जडान गर्ने भनेपनि क्याम्पस प्रशासनले विद्यार्थी संगठनले जडान गर्न नपाउने भनेको बताए ।

यता समाजवादी पार्टीका क्याम्पस इकाई सचिब अभिषेक कर्णले धारा भत्काएको विषयमा लेखिएको फेसबुक स्टाटसले विवाद निस्किएको बताए । उनले क्याम्पस परिषरभित्र विद्यार्थी संगठनले केही निर्माण गर्न नपाउने भएपनि धारा कसरी बनाइयो भनेर क्याम्पस प्रशासनले छानविन गर्नुपर्ने बताए । ‘क्याम्पस परिषरमा विद्यार्थी संगठनले केही पनि निर्माण गर्न नपाउने नियम छ’ उनले भने ‘तर, धारा कस्को स्विकृतिमा निर्माण भयो त्यो थाहा भएन यसबारेमा सत्यतथ्य बाहिर आउनुपर्छ ।’ उनले नेवीसंघले क्याम्पसका फेसिलिटी इन्चार्ज एबंम सहायक क्याम्पस प्रमुख रामचन्द्र मण्डलको कुर्सि समेत जलाएको बताए । अनेरास्ववियु क्याम्पस ईकाइका नेताहरुसँग पटक पटक प्रयास गर्दा पनि सम्पर्क भने हुन सकेन ।