संखुवासभा: चार दिनअघि गाली हानाहान भएपछि ठुलो संख्यामा परिचालन भएको प्रहरीले नेत्र बिक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका एक जिल्ला नेतालाई अत्याधुनिक हतियार एसएलआरसहित पक्राउ गरेको छ ।

दोहोरो भिडन्त पछि लुकेर बसेका ओखलढुंगाको चिशखुगढी गाउँपालिका–७ का निम दोर्जी तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनी विप्लवका संखुवासभाको जिल्लास्तरका नेता भएको बताइएको छ । संखुवासभा प्रहरी प्रमुख एवं डिएसपी मिमबहादुर लामाले पक्राउ परेका दोर्जीको साथबाट एसएलआर राइफल एकथान र त्यसमा प्रयोग हुने गोली ६९ राउण्ड बरामद भएको जानकारी दिए । यो बाहेक एलएमजी राइफलमा लाग्ने २० राउन्ड गोली, विस्फोट गराउन प्रयोग हुने ३४ फिट डेडकर्ड, मोबाइल फोन पनि वरामद भएको प्रहरीले जनाएको छ ।

गएको सोमबार संखुवासभाको सिलिचोङ गाउँपालिका–१ स्थित होङ्लामा प्रहरी र चन्दका कार्यकर्ताबीच गोली हानाहान भएको थियो । उक्त घटना पछि लुकेर बसेको अवस्थामा दोर्जीलाई अत्याधुनिक हतियारसहित प्रहरीले पक्राउ गरेको हो । चन्द समुहले सिलिचोङ गाउँपालिका १ का जनतासँग हातहतियार देखाएर तर्साउने, चन्दा असुल्ने जस्ता कार्यहरु गर्ने गरेको प्रहरीको दाबी छ । भिडन्तपछि प्रहरीको सर्च अभियान तीब्ररुपमा जारी छ । चन्दका कार्यकर्ताहरु जंगलमा तर्फ भागेका थिए । घटनास्थल विकट र घना जंगल क्षेत्र पनि भएकोले त्यहाँसम्म पुग्न सदरमुकाम खादबारीबाट कम्तीमा पनि १० घण्टा पैदल हिड्नुपर्छ ।

तस्बिर क्याप्सन: धरानमा गएको चैतमा एसएमजी र एम १६ सहित पक्राउ परेका कोशी ब्युरो सदस्यलाई लैजादै प्रहरी ।  तस्बिर: फाइल फोटो