धरान : धरान उपमहानगरपालिकालगायत रिक्त रहेको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य पदमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले तयारी थालेको छ ।

आयोगले बिहिबार एक विज्ञप्ती जारी गर्दै उपनिर्वाचन गर्ने आन्तरिक तयारी गरिरहेको प्रष्ट पारेको छ । आयोगका सचिव एवं प्रवक्ता शंकरप्रसाद खरेलले जारी गरेको विज्ञप्तीमा मतदाता नामावलीमा नाम छुट भएका तर योग्य नागरिकहरुलाई नाम दर्ता गराउन आग्रह पनि गरिएको छ । ‘नेपाल सरकारको आर्थिक बर्ष २०७६/०७७ को बार्षिक नीति तथा कार्यक्रममा यसै बर्ष उपनिर्वाचनका कामहरु सम्पन्न गरिनेछ, भन्ने उल्लेख छ । प्रचलित कानुन वमोजिम उपनिर्वाचन गर्न आयोगले आवश्यक आन्तरिक तयारीको कार्य गरिरहेकोछ,’खरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ,‘नाम दर्ता गराउन छुट भएका योग्य नागरिकले नागरिकताको प्रमाणपत्रसहित आफ्नो स्थायी ठेगाना रहेको जिल्लास्थित जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र मतदाता दर्ता कार्य सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयमध्ये आफुलाई पायक पर्ने कार्यालयमा गई मतदाता नामावलीमा नाम दर्ता गराउन हुन जानकारी गराइन्छ ।’

ECN_Press_Release_2076-03-1

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपालियाले आगामी कार्तिक वा मंसिरभित्रै उपनिर्वाचन गराउने गृहकार्य भइरहेको बताए । संघ, प्रदेशको सांसद, स्थानीय तहका प्रमुख र वडाअध्यक्षसम्मको चुनाव गराउने आयोगको तयारी भएको उनले बताए । ‘वडा अध्यक्षसम्मको पदको उपनिर्वाचन गर्न नयाँ कानुन बनाइरहन पदैन, विद्यामान कानुन अनुसार नै चुनाव हुन्छ, हामी आन्तरिक तयारीमा जुटेका छौं,’उनले भने । प्रमुख आयुक्त थपलियाका अनुसार स्थानीय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश संसदको हकमा प्रदेश सभा र प्रतिनिधि सभाको हकमा प्रतिनिधिसभा सचिवालयमा आयोगले पत्राचार गर्नेछ ।

देशका ३६ जिल्लाको कुल ४७ पदहरु हालसम्म रिक्त भएको आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य १, प्रदेश सभा सदस्य ३, स्थानीय तहअन्र्तगत गाउँपालिका अध्यक्ष/उपाध्यक्ष ४ र नगरपालिका प्रमुख १ पद रिक्त रहेको छ भने नगरपालिका तथा गाउँपालिकाको ३८ वटा वडा अध्यक्ष पद खाली रहेको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । प्रदेश १ मा मात्रै एक नगरप्रमुख, २ गाउँपालिका अध्यक्षको पदमा निर्वाचन गर्नुपर्नेछ । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको एक बर्षअघि निधन भएपछि प्रमुख पद खाली रहेको छ भने वडा नं ७ को अध्यक्ष भुवन मोक्तानको पनि निधन भएको थियो । यस्तै, प्रदेश १ कै मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवाल दुर्घटनामा परी निधन भएको थियो भने पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्षको पनि निधन भएको थियो ।

यस्तो छ आयोगको तयारी

elections

आयोगसँग आवश्यक परामर्श गरेपछि सरकारले चुनावको मिति घोषणा गर्छ । आयोगले पनि आफुसँग भएको जनशक्ति, स्रोतसाधानलगायत सबैको अवस्था हेरेर सरकारसँग आवश्यक बजेट, जनशक्ति र स्रोतसाधनको माग गरेर तयारी थाल्नेछ ।

प्रमुख निर्वाचन आयुक्त थपलियका अनुसार प्रतिनिधि र प्रदेशसभा सदस्यको एकै दिन उपनिर्वाचन हुनेछ भने स्थानीय तहको अर्को दिन हुनेछ । यी दुई उपनिर्वाचन कम्तीमा एक हप्ताको अन्तरमा हुनेछ । ‘८÷१० दिनको ग्याप हुन्छ । स्थानीयतहको उपनिर्वाचन पहिला गर्ने र त्यसपछि पछि प्रदेश र प्रतिनिधिसभाको गर्ने गरी तयारीमा छौं,’थपलियाले भने ।