सप्तरी : मादक पदार्थ सेवन गरिरहने एक युवकले बिहीबार अपरान्ह खुकुरी प्रहार गरी आमाको हत्या गरेका छन् ।

घरमा कोही नभएका बेला सप्तरीको सुरुङ्गा नगरपालिका १ चहकाका ३४ वर्षीय रिठ्ठे भनिने जंगबहादुर पुलामीले खुकुरी प्रहार गरी ६४ वर्षीय आमा धनमाया पुलामीको हत्या गरेका हुन् ।

सुरुङ्गा नगरपालिका १ का निमित्त वडा अध्यक्ष इन्द्र आले मगरका अनुसार आमाको शवसँगै जंगबहादुर रक्ताम्य अवस्थामा भेटिएका थिए । उनले खुकुरी नचाउँदै बुवा र छिमेकीलाई मार्ने धम्की दिएपछि प्रहरीलाई खबर गरेको आलेको भनाइ छ ।

बिहीबार दिउँसो धनमायाले मोबाइलमा रिचार्ज सकिएको भनेपछि उनका श्रीमान ६५ वर्षीय लोकबहादुर पुलामी बजार गएका थिए । उसै बेला छोराले आमाको हत्या गरेको लोकबहादुरले बताए ।

खुकुरी प्रहारले गर्धनसहित टाउको पछाडि तीन ठाउँमा र अनुहारमा दुई ठाउँमा गहिरो चोट लागेको अवस्थामा धनमायाको शव फेला परेको इलाका प्रहरी कार्यालय भेडियाका इन्स्पेक्टर प्रकाश बस्नेतले जानकारी दिए । –अन्नपूर्ण दैनिकबाट