धरान: भानुचोक भएर उत्तर धनकुटातर्फ जाने कोशी राजमार्ग साँघुरो छ । सडकमा नै मोटरसाइकल पार्किङ र तीब्र गतिमा सवारी गुड्छन् । त्यसैले पैदल यात्रीहरुलाई सडक पार गर्न ज्यादै असुरक्षित हुन्छ ।

सडक किनारमा पैदल यात्रीहरुको लागि अलग्गै पेटी बनाइएको हुन्छ । सडक किनारमा ड्रेन पनि हुन्छ । ड्रेनमाथि पैदल यात्रीलाई सहजताको लागि स्लाब राखेर हिड्ने फुटपाथ बनाइएको छ । धरानको कोशी राजमार्गको दुवै किनारमा पनि त्यस्तै छ । तर, आज(शुक्रबार) सामाजिक सञ्जालमा पोष्ट भएको एउटा तस्बिरले त्यही फुटपाथ पनि पैदल यात्रुको लागि सुरक्षित नभएको भन्ने देखायो ।

करिब ५ बजेतिरको समयमा एकजना वद्ध पैदल हिडिरहेका थिए । उनी कोशी राजमार्गसँग जोडिने धरानको रत्नरोड मोडमा थिए । एक्कासी उनी लड्न पुगे । उनको खुट्टा ड्रेनमाथिको स्लाबको प्वालमा फस्न पुग्यो । वृद्धको दाहिने खुट्टा आधा ड्रेनभित्र पसेर उनी सडकतर्फ लड्न पुगे । घटनास्थल नजिकै सञ्चालनमा रहेको नेपाल युनिफर्म हाउस तथा नेपाल ब्याग सेन्टरका सञ्चालक फिरोज अलीले ती वृद्धलाई उद्दार गर्न जादाजादै तस्बिर खिचेका थिए । उनले सामाजिक सञ्जालमा पोष्ट गरेपछि यो तस्बिर भाइरल बन्न पुग्यो । 'धरान मेन बजारको ड्रेनको यो हालतले सधैं जसो मानवीय दुरघटना हुने गरछ।सरोकार वाला को समयमै ध्यानाकर्षण होस्,'उनले फेसबुकमा फोटो पोष्ट गर्दै लेखे ।

foothpathh

अलिको फेसबुक पोष्टमा सन्दीप श्रेष्ठले कमेन्ट गरेका छन्, 'गमलाको फुलहरु र रेलिंगले मात्र कहाँ सुन्दर शहर धरान हुन्छ, पैदल यात्रीमैत्री बाटो र पेटी पनि व्यवस्थित हुन जरुरी छ, सम्बन्धित निकायको ध्यान जाओस् ।' अलिले पोष्ट गरेको तस्बिरलाई पुनः पोष्ट गर्दै पत्रकार मिलन विछोडले पनि घटनाप्रति दुःख व्यक्त गर्दै सडकमा खुला छोडिएको ढलहरु धराप जस्तै बनेको टिप्पणी गरेका छन् । 'दुःखद । सडकमा खुल्ला छाडिएका ढल धराप जस्तै बनेका छन । बाटो बन्ने प्रक्रियामा रहेका स्थानको हालत त नाजुक छ । यसरी नै केही महिना अघि खनारका एक ब्यक्ति छ लेन सडकमा राखिएको खुल्ला ढलमा छिर्दा ज्यान गुमाउनुपरेको थियो । यो ताजा धरानको तस्बिरले मन दुख्यो । सम्बन्धित निकायको बेलैमा ध्यान जाओस ।,

तस्बिर खिच्ने अलिका अनुसार रत्न रोडको अगाडिको कोशी राजमार्गको यो ठाउँमा प्रायः मान्छे यसरी नै दुर्घटनामा परिरहन्छन् । हप्ता, दश दिनमा यस्तो घटना भइरहने उनले बताए । 'मान्छे हिड्दा हिड्दै चिप्लिन्छन्, खुट्टा पस्छ, र लड्छन्,'अलिले भने, 'स्लाब ग्याप छ, मर्मत राम्रो छैन । मान्छे हिड्न असुरक्षित छन् ।' घटनास्थलअघि पसल भएका सुनसरी उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष अशोक ताम्राकारले पनि त्यहाँ धेरै पटक यस्तो दुर्घटना भएको बताए । 'यस्तो भइरहन्छ, स्लाबको ग्याप छ,मान्छेको खुट्टा पसिरहन्छ । आइतबार वडाअध्यक्ष र नगरपालिकामा म भन्छु,'उनले भने ।