झापा : करिब डेढ महिनाअघि झापाको कनकाई पुल नजिकै प्रेसर कुकर बम राखेर आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका पाँच जनालाई झापा प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले आज शुक्रबार अपरान्ह इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो । झापा गोलधाप गाविस हाल हल्दिबारी गाउँपालिका – ७ भुल्का गाउँ बस्ने २७ वर्षीय दीपेश न्यौपाने, दमक नगरपालिका – १ बस्ने ४२ वर्षीय सञ्जयखरेल भन्ने (खगेन्द्र), संखुवासभा खादबारी नगरपालिका – ८ हिंगुवा घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका– ७ दुलारी बस्ने २१ वर्षीय कमल कोइराला भन्ने(लालमणि कर्णखर), सताक्षीधाम गाविस हाल शिवसताक्षी नगरपालिका–१० सैनिक बस्ती बस्ने ६४ वर्षीय चौहान साईला भन्ने रामचन्द्र चौहान र मोरङ उर्लाबारीनगरपालिका – १ झारसादी टोल बस्ने १९ वर्षीय मनिष माझीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीको समेत उपस्थितिमा उनीहरुलाई सार्वजनिक गरिएको थियो । पत्रकार सम्मेलनमा सुनसरीको इटहरीबाट खरेल र कोइरालालाई वैशाख ३० गते पक्राउ गरिएको जानकारी दिए । माझीलाई जेठ २ गते झापाबाट, न्यौपानेलाई वैशाख २९ र चौहानलाई वैशाख ३० गते पक्राउ गरेको बताए । उनीहरूले गत वैशाख २९ गते बिहान कनकाई नगरपालिका ४ स्थित कनकाई नदीको पुलको डिभाइडरमा गोर्खा नेपाल जनमुक्ति मोर्चाको नामको पर्चासहित प्रेसरकुकुर बम राखेका थिए ।
मोर्चाले सुगौली सन्धि मार्फत नेपालले गुमाएको भूमि फिर्ता, २०४६ देखि अहिलेसम्मको विदेशीलाई दिएको अगिकृत नागरिकता फिर्ता, सङ्घीयता खारेज, भ्रष्टाचारलाई कारबाही, निःशुल्क शिक्षा र उपचारसहितको माग राख्दै झापामा बम आतङ्क मच्चाएका थिए ।

यता पक्राउ परेका पाँचै जनालाई विस्फोटक पदार्थतथा सङ्गठित अपराध सम्बन्धी मुद्दा दर्ता गराई कारबाही प्रक्रिया अघि बढाइसकेको प्रहरी उपरीक्षक मैनालीले बताए । यता चोरी भएका १९ थान मोटरसाइकल सहित प्रहरीले पाँच जनालाई सार्वजनिक गरेको छ । एक साताको अवधिमा झापाका विभिन्न ठाउँवाट पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरिएको थियो ।

चोरीमा सम्लग्न १३ जना भएपनि पाँच जनामात्रै सार्वजनिक गरिएको छ । अन्य व्यक्तिको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले चोरीमा सम्लग्नको विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् ।