काठमाडौं: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको विकासका लागि संसारभर छरिएर रहेका नेपालीहरुको मन र भावनालई समेटेर अगाडि बढ्ने बताएका छन् ।

मुख्यमन्त्री राईले नेपालको तीब्र विकासका लागि संसारभर रहेका नेपालीहरु एक भएर अगाडि बढ्न समेत आह्वान गरेका छन् । अमेरिकाको बाल्टिमोरमा शुरु भएको नेपाली राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रममलाई सम्बोधन गर्दे मुख्यमन्त्री राईले नेपाल राष्ट्रको विकास र नेपाली जनताको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीहरु एक भएर अगाडि बढ्नु पर्ने बताएका हुुन् । 'हामी सबैको ध्यान नेपालमा आकर्षित गराउन चाहन्छौ,'मुख्यमन्त्री राईले कार्यक्रमलाई सम्बोधन गर्दे भने,'नेपालमा लगानी गर्ने वातावरण बन्दै गइरहेको छ, हामी नेपालमा लगानी आकर्षित गराउन चाहन्छौं । यसका लागि वातावरण बनिरहेको छ, मुख्यमन्त्री राईले भन्नुभयो हामी वातावरण बनाइरहेका छौं ।'

नेपाली मन र भावनालाई नेपाल राष्ट्र निर्माणको महान अभियानमा जोड्न् आफूहरु लागि रहेको मुख्यमन्त्री राईले बताए । 'नेपाल विकास र समृद्धिको महाअभियानमा अगाडि बढिसकेको छ,'मुख्यमन्त्री राईले भने,'यो अभियानमा तपाईहरुको पनि योगदान आवश्यक छ ।' विगतमा नेपाल विभिन्न कारणले पछि परेको भएपनि यतिबेला नेपाल तिब्र गतिमा अगाडि बढिरहेको मुख्यमन्त्री राईले बताए । देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको भन्दै मुख्यमन्त्री राईले नेपाल राष्ट्र स्पष्ट गन्तव्य सहित समृद्धिको महान यात्रामा प्रवेश गरेको बताए ।