धरान: त्रिभुवन विश्वविद्यालयले गएको फागुनमा पदावधि सकिएको स्वतन्त्र विद्यार्थी युनियनको पदावधी थप गरेको छ ।

त्रिविविको शिक्षाध्यक्षको कार्यालयअन्र्तगतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले देशभरका आंगिक क्याम्पसहरुमा पत्र पठाउदै युनियनका पदाधिकारीहरुको म्याद थप भएको जानकारी गराएको हो । निर्देशनालयका अनुसार पदावधी समाप्त भएको मितिदेखि लागु हुने गरी ६ महिनाको लागि स्ववियु कार्यसमितिको पदावधी थप गरिएको छ । 'अस्तिको दिन क्याम्पस प्रशासनमा पत्र आएको रहेछ, हामीले हिजो जानकारी पायौं,'महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सचिव दोर्ची शेर्पाले भने,'हाम्रो पदावधि भदौ १७ गतेसम्मलाई थप भएको छ ।'

देशभरको स्ववियुको दुई बर्षे कार्यकाल २०७५ फागुन १७ गते सकिएको थियो । स्ववियुले चुनाव घोषणा गरेपनि निर्धातिर मितिमा हुन सकेन । रिक्त भएको स्ववियु पदाधिकारीको म्याद ६ महिना थप गर्ने त्रिविविले निर्णय गरेको हो ।