धरान: नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय परिषद सुनसरीको जिल्ला भेला सम्पनन भएको छ ।

जिल्ला अध्यक्ष सुरज लामा पाख्रिनको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलामा घेदुङको संशोधित विधान, आसन्न प्रदेश अधिवेशन तथा नवौं महाधिवेशन, घेदुङको आजिवन सदस्य, तामाङ जनताको धर्म, संस्कार, संस्कृति, परम्परा र रितिरिवाजबारे व्यापक अन्र्तक्रिया भएको थियो भने प्राप्त संवैधानिक हक अधिकारको कार्यान्वयन र संवोधन हुन नसकेका मूद्दाहरुमाथि पनि छलफल भएको घेदुङले जनाएको छ ।

भेलालाई संवोधन गर्दै १ नं. प्रदेश अध्यक्ष मित्रसेन योञ्जनले घेदुङमा टिके प्रथा अन्त्य हुनुपर्ने बताएका थिए । जिल्लाको संरचना यथावत हुनुपर्ने तथा लामा र बोन्बो(धामी झांक्री) वीच भएको असमझदारी हट्नुपर्ने बताए । उनले मंसिरभित्रै प्रदेश अधिवेशन हुने र फागुनमा सुनसरीको धरानमा नवौं महाधिवेशन हुने बताउंदै त्यसका लागि सुनसरी घेदुङ तयारीमा जुट्नु पर्ने पनि बताए ।

tamangg

नेपाल तामाङ घेदुङका संघीय सल्लाहकार सुजेन्द्र गोले तामाङले दीर्घकालीन शैक्षिक, राजनीतिक, सांस्कृतिक, सामाजिक एवम् सांगठनिक योजना बनाएर घेदुङ अघि बढ्नुपर्नेमा जोड दिए । उनले नेकपाको दुई तिहाईको सरकारले संविधानमै उल्लेख गरिएको समानुपातिक समावेशीता, धर्मनिरपेक्षता र समतामूलक समाज निर्माणको मर्म र भावना विपरित आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, महिला, अल्पसंख्यक, अपांगहरुमाथि विभेद गरिरहेको बताए । आदिवासी जनजातिहरुको राष्ट्रिय सांस्कृतिक चाडपर्वमा दिंदै आएको राष्ट्रिय विदा कटौती तथा भर्खरै लोकसेवा आयोगले संविधान विपरित गरेको असमावेशी विज्ञापनले सरकारको नियत र चरित्र प्रष्ट भएको बताए ।

भेलामा नेपाल तामाङ घेदुङका सुनसरी उपाध्यक्ष पृथ्वीबहादुर मोक्तान, धरान नगर अध्यक्ष प्रेम वाईवा, इटहरी नगर अध्यक्ष चन्द्रबहादुर गाम्देन, बराह नगर अध्यक्ष कुलबहादुर मोक्तान, लामा राजेन्द्र स्याङवो, गोले समाज सुनसरीका अध्यक्ष तारा लामा गोले, पाख्रिन समाज सुनसरीका अध्यक्ष हर्क पाख्रिन, योन्जन समाज सुनसरीका अध्यक्ष राम योन्जन, महिला घेदुङ धरानका अध्यक्ष प्रतिमा लामा लगायतले मन्तव्य राखेका थिए ।

भेलामा नेपाल तामाङ घेदुङका संघीय सदस्य मैतबहादुर गोले, प्रदेश उपाध्यक्ष रामबहादुर ग्यावा, जिल्ला सल्लाहकार नन्दलाल पाख्रिन, गुम्बा अध्यक्ष हर्क गोले, गुम्बा अध्यक्ष लोकबहादुर थिङ, आङी समूहका अध्यक्ष पूर्णिमाया गोले, सिंगर तामाङ समाजका प्रतिनिधि दिपबहादुर सिंगर लगायतको उपस्थिति रहेको थियो भने संचालन जिल्ला सचिव मंगलसिंह मोक्तानले गरेका थिए ।