धरान : लोकसेवा आयोगले निकालेको विज्ञापन संविधानको भावना र मर्म विपरीत भएको भन्दै आन्दोलित आदिबासी जनजाति महासंघ, नगर समन्वय समितिले आज साँझ धरानमा पनि मशाल जुलुस निकालेको छ ।

प्रहरीको अवरोध भएपनि आदिबासी जनजातिहरुले वृहतरुपमा मशाल जुलुस निकालेका हुन् । छाताचोकस्थित पुरानो अस्पतालबाट मशाल जुलुस निकाल्ने योजनालाई प्रहरीले शुरुमा नै अवरोध गरेपनि अन्य विभिन्न स्थानबाट जुलुश निस्किएपछि प्रहरी पछि हटेको थियो । पुरानो अस्पतालबाट निस्कने जुलुशलाई रोकिरहदा अन्य क्षेत्रबाट मशालसहितको जुलुश भानुचोक पुगिसकेको थियो । यो थाह पाएपछि छाताचोकमा पनि धेरैबेर प्रहरीले मशाल जुलुशलाई रोकिरहन सकेन । जुलुस निकाल्ने क्रममा प्रहरीले रोक्न खोजेपछि छाताचोकमा केही बेर तनाब सिर्जना भएको थियो । महासंघको नेतृत्वमा दलित, मुस्लिम, महिलालगायतको सहभागीतामा जुलुस निकालेका थिए ।

masal1

लोकसेवा विज्ञापन संशोधन हुनुपर्ने माग गर्दै संयुक्त संघर्ष समिति नै गठन भएको छ । समितिको संयोजकमा आदिबासी जनजाति महासंघ नगर समन्वय परिषदका अध्यक्ष सुवास हक्पा चोङवाङ नै छ । समितिले एक ठाउँबाट मात्र नगरी धरानको शान्तिपथ, सब्जी मण्डी, गीता मन्दिर, मल्ला रेडियो सर्भिस लगायत ठाउँबाट पनि बाँडिएर मशाल जुलुस निकालेको थियो । भानुचोकमा एकत्रित भएको मशाल जुलुसलाई भने प्रहरीले रोक्न रोज्दा निक्कै घम्साघम्सीसमेत भएको थियो ।

masal2

भानुचोकमा घम्साघम्सी शान्त भएपछि कोणसभा भएको थियो । आदिबासी, जनजाति, मधेशी, मुस्लिमलगायतको अधिकार कटौती हुने गरी संविधानको भावना र मर्म विपरीत आयोगले विज्ञापन खुलाएकोले विरोध गरिएको संयोजक चोङवाङले बताए । आयोगले खुलाएको विज्ञापन असमान भएको उनको भनाई थियो । उनले सविधानमा नै उल्लेखित आरक्षण कोटा अनुसार आयोगले विज्ञानपन खुलाउनु पर्ने बताए । मशाल जुलुसमा महासंघको नेतृत्वमा दलित, मुस्लिम, अपाङग, महिलालगायतको सहभागीता रहेको थियो । महासंघले भोली सोमबार देशव्यापी सिठी जुलुस समेत निकाल्ने घोषणा गरेको छ भने साउन २ गते र १० गते नेपाल बन्दको आह्वान गरेको छ । तस्बिर स्रोत: फेसबुक

masal3