झापा : झापाको दमक नगरपालिकाकी उपमेयर गीता पौडेल (अधिकारी)लाई सरकारले नगर विकास कोषको सञ्चालक सदस्य नियुक्त गरेको छ ।

२९ असारमा बसेको मन्त्रीपरिषदको बैठकले प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुख मध्येबाट कम्तीमा तीन जना महिला सहित सात जनालाई नगर विकास कोष सञ्चालक समिति सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको थियो । सो अनुसार दमक नगरपालिकाकी उपप्रमुख अधिकारीलाई सो जिम्मेवारी प्रदान गरिएको जनाइएको छ । नगर विकास कोष शहरी क्षेत्रको विकासका लागि सहयोग गर्ने अख्तियारी पाएको एउटा सरकारी निकाय हो । सरकारले यही कोष मार्फत देशभरका नगरपालिकाहरुमा नगरको विकासका लागि अनुदान प्रदान गर्दै आएको छ ।