इटहरी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गरेको गल्तीका कारण बाढीपीडितहरु थप पीडामा परेको बताएका छन् ।

नेपाल प्रेस युनियन इटहरी नगर समितिले शनिबार इटहरीमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै देउवाले भने, ‘सरकारले कुटनीतिक पहल नगरेका कारण तराई क्षेत्रमा बाढीबाट पीढित बन्नुपरेको छ, पीडितको उपचार, राहत र उद्दार कार्यमा समेत सरकार निरङ्कुश देखियो ।’

तराईका डुबान तथा बाढीबाट प्रभावित जिल्लाको अनुगमनमा केही दिन अगाडिबाट निस्किएका उनले सरकार जनताको बिरुद्धमा रहेको बताए । उनले भने,‘यो गठबन्धनको सरकारले जनताको हितमा काम गर्न सकेन, सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने काम गरिरहेको छ ।’ उनले बाढीपीडितको अनुगमन पछि पीडितहरुलाई सरकारले नहेरेकोमा आपत्ति जनाएको बताउँदै देउवाले संसदमा आवाज उठाउने बताए । उनका अनुसार कांग्रेस संसदीय दलको निर्णय अनुसार संघीय सांसदहरुले ५ दिनको र प्रदेश सांसदहरुले १० दिनको तलब राहत स्वरुप पीडितहरुलाई दिईने छ ।

शुक्रबार सिरहा र सप्तरीका बाढीपीडितहरुको अवस्था बुझेका देउवाले सुनसरीको रामधुनी लगायतका विभिन्न स्थानको अनुगमन गरेका थिए । उनले गत वैशाख २६ गते संसदमा दर्ता भएको मिडिया काउन्सिल बिधेयकको बिषयमा बोल्दै बर्तमान केपी ओली नेतृत्वको सरकारले अभिव्यक्ति स्वतन्त्रताको अंकुशल लगाएको बताए । उनले भने, ‘सरकारले लोकतन्त्रको मूल्य र मान्यतमाथि अंशुक लगाउने काम गरेको छ, जनताले बोल्न पनि पाउने अवस्था छैन, यो संविधानविपरीत रहेको छ ।’

देउवाले प्रेस स्वतन्त्रताको अवरोध गरेकाले सरकार निरीहको बाटो हिडेँको बताए । कार्यक्रममा सांसद सिताराम मेहेता, नवोदिता चौधरी, चन्द्र श्रेष्ठ, रमेशजंग रायमाझी, नेपाली कांग्रेस जिल्ला अध्यक्ष राजीव कोईराला, आमन्त्रित केन्द्रीय सदस्य नरेन्द्र चौधरी लगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।