काठमाडौं : सत्तारुढ नेकपा अमेरिका र भारतप्रति नरम देखिएको छ ।

पार्टी एकताका क्रममा निर्वाचन आयोगमा दर्ता गरेको दस्तावेज १४ महिनापछि संशोधन गर्दै नेकपाले अमेरिका र भारतप्रति नरम नीति लिएको हो । राजनीतिक दस्तावेजको दुई ठाउँबाट ‘अमेरिकी’ शब्द झिकेर अमेरिकालाई हेर्ने दृष्टिकोण नरम बनाइएको छ । दस्तावेजमा अमेरिकी नीतिका कारण व्यापार युद्ध हुन सक्ने सम्भावना औंल्याइएको थियो । तर अहिले छापिँदै गरेको दस्तावेजमा अमेरिकी शब्द झिकेर पश्चिमा शक्ति राष्ट्र राखिएको छ । त्यस्तै अर्को ठाउँमा अमेरिकी शब्द झिकेर वाक्यलाई अमूर्त बनाइएको छ ।

भारतको सवालमा पनि नेकपाले अहिले अमूर्त विश्लेषण गरेको छ । दस्तावेजको पृष्ठ १७ मा छिमेकी शासकहरु भनेर प्रष्ट संकेत गरेको भारतीय व्यवहार झिकेर ‘विदेशी प्रतिक्रियावादी शक्ति’ राखिएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट