काठमाण्डौं : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै २३ जनालाई कारबाही गरेको छ ।

निर्वाचनका बेला सोलुखुम्बु, रौतहट र दैलेखमा आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिने तथा तीनका प्रस्तावक र समर्थकको नाम अभिलेखबाट समेत हटाउने निर्णय कांग्रेसले गरेको हो ।  समिति संयोजक भिष्मराज आङ्देम्बेद्वारा जारी विज्ञप्तिमा बागी उम्मेदवार बनेका, तीनलाई प्रस्ताव गर्ने, समर्थन गर्ने र अन्य पार्टीमा गएकाको नामावली सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएको उल्लेख छ ।

समिति बैठकले सोलुखुम्बुमा मात्र २० जनाको नाम अभिलेखबाट हटाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, रौतहटमा दुई जना र दैलेखमा एक जनाको नाम हटाउन निर्देशन दिएको अनुशासन समितिले जनाएको छ । सो समितिले पार्टीलाई असहयोग गर्ने अन्य जिल्लाका नेता कार्यकर्ताको नामावली पठाउन पनि निर्देशन दिएको छ ।