धरान: धरानका स्वर्गीय मेयर तारा सुब्बालाई शहिद घोषणा गर्न परिवारजनले माग गरेका छन् ।

स्वर्गीय मेयर सुब्बाका दाजु घनेन्द्र सुब्बाले मंगलबार तारा सुब्बा स्मृति ग्रन्थको विमोचन समारोहमा यस्तो माग गरेका हुन् । उनले देश र जनताको लागि अन्तिम समयसम्म पनि काम गर्दा गर्दै आफ्नो ज्यान गुमाएकोले शहिदको स्थानमा सम्मान गर्नुपर्ने बताएका थिए । ‘आन्दोलनमा सहभागी हुँदा मृत्यु भएमा राजनैतिक कार्यकर्ता शहिद हुन्छ, तर देश र जनताको लागि काम गर्दा गर्दै मृत्यु हुदा के उसलाई शहिद घोषणा गर्न मिल्दैन ?’

tara-subba-4

उनले शहिद घोषणाको माग गर्दा तीनै तहका सरकार प्रमुख तथा प्रतिनिधिहरु पनि उपस्थित थिए । कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल प्रमुख अतिथिकोरुपमा थिए भने बिशिष्ट अतिथिकोरुपमा प्रदेश १ का प्रदेश प्रमुख डा.गोविन्द तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी,संघीय संसद जयकुमार राई, धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी पनि थिइन् । तर, स्वर्गीय मेयर तारा सुब्बालाई शहिद घोषणा मागप्रति कसैले पनि प्रतिक्रिया भने दिएनन् ।