काठमाडौं : सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएको छ ।

सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लागेको हो । सरकारको कामलाई प्रभावकारी बनाउन र परिणाम देखाउने गरी काम गर्न मन्त्रीमण्डल फेर्नुपर्ने पार्टी्भित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उनले पार्टीका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरे ।

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीका सचिवालयको एक सदस्यका अनुसार मन्त्रीमण्डल पुनर्गठन गर्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम लगायतका शीर्ष नेताहरुसँग परामर्श गरे । साथै उनले मन्त्रीमण्डल फेर्दा नयाँ मन्त्री हुने पात्रको बारेमा पनि परामर्श गरे ।

सरकार सञ्चालनलाई प्रभावकारी बनाउन पार्टीका शीर्ष नेताको सुझावलाई आत्मसाथ गर्दै प्रधानमन्त्री ओलीले पार्टीको विभाग र आयोगका प्रमुखहरुको जिम्मेवारीको टुंगो लागेलगत्तै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गर्नुभएको उनको सचिवालयका एक सदस्यले बताए ।

उनका अनुसार चारवटा मन्त्रीबाहेक अरु मन्त्रीलाई विदाई गरेर नयाँ मन्त्रीलाई ल्याउने प्रधानमन्त्रीको तयारी छ । गृह, रक्षा, उर्जा, परराष्ट्र र सञ्चारबाहेक अन्य मन्त्री हटाउने गृहकार्यमा प्रधानमन्त्री लाग्नुभएको स्रोतको दावी छ ।