काठमाण्डौं : पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले नै विभागीय प्रमुखमा रुचि देखाएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीका ३२ विभागमध्ये ६ वटामा चारवटा पूर्व एमाले र २ वटा पूर्वमाओवादीको भागमा लगाएका छन् । ती विभागमा शीर्ष नेताले नै आँखा लगाउँदा विवाद देखिएको छ । २०५० सालमा तत्कालीन एमाले विदेश विभाग प्रमुख रहेका माधवकुमार नेपालले महासचिव भएपछि सो विभाग छाडेका थिए ।

२०६४ सालमा भएको संविधासभाको चुनावमा पार्टीको हार भएपछि महासचिवबाट राजीनामा दिएका नेपाल २०६६ सालपछि पनि विदेश विभाग प्रमुख भएका थिए । तत्कालिन एमाले र माओवादी केन्द्र एकीकृत भइ बनेको नेकपाको विदेश विभाग प्रमुख पनि उनलाई नै बनाउने तयारी छ ।

२०४९ सालमा तत्कालिन एमाले प्रचार विभाग प्रमुख रहेका झलनाथ खनाल पनि एक पटक विदेश विभाग प्रमुख भइसकेका छन् । एकीकरणपछि बनेको नेकपाको नीति अध्ययन विभाग वा स्कुल विभाग खनाललाई दिने तयारी छ ।  नागारिक दैनिकबाट