इटहरी : जनता बहुमुखी क्याम्पस इटहरीको भोली मंगलबार हुने सञ्चालक समितिको चुनावमा दलीय राजनीति भन्दा माथि उठेर स्वतन्त्र रुपमा उमेद्धारी दिएका मानिसहरुको सामाजिक सञ्जालमा प्रचार गर्दा नेकपा इटहरीले स्पष्टीकरण मागेको छ ।

क्याम्पसको १३ सदस्यीय व्यवस्थापन समितिको चुनावमा उठेका स्वतन्त्र उम्मेदवार हेमसागर तिम्सिनाको फेसबुकमार्फत प्रचार सेयर गर्ने नेकपाका कार्यकर्तालाई नेकपा इटहरीले स्पष्टीकरण मागेको हो । तिम्सिनाको पोष्ट लगाएर फेसबुकमा सेयर गरेका इटहरीका मिलन बाँस्तोलालाई नेकपाले स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण मागेपछि यता मिलन बाँस्तोलाले भने आफ्नो पुरानो साथी भएका कारण पर्सनल आइडीमा पोष्ट सेयर गर्दा नेकपाले आपत्ती जनाउनु खेदजनक रहेको बताए। उनले भने, हेमसागर जी मेरो पुरानो साथी हो, योद्धा पनि हो, खुसी लागेर पोष्ट सेयर गरेको थिएँ, बिहानै घरमा स्पष्टीकरणको पत्र आइपुगेछ । उनले आँफूले स्पष्टीकरण पनि नदिएको बताउँदै भने बरु मलाई पार्टीबाट नाम हटाइदेउ भने, पोष्ट हटाउनका लागि दबाब दिएका छन् । उनलाई नेकपा इटहरीको सचिवालय र २ नं. क्षेत्रको सह–ईन्चार्ज बनाएको भन्ने कुरा आएको र आँफूले स्वीकार नगरेको बताए । पार्टीको निर्णय विपरीत पोष्ट हालेको भन्दै दबाब आयो, उनले भने, पार्टी भन्दा माथि जनता हुन्छ, योद्धा हुन्छ, एउटा योद्धाको सेयर गर्दा यत्रो आपत्ती ? उनले महिलाहरुलाई पनि चुनावमा समेट्न नसकेको बताउँदै पोष्ट हटाउन आवश्यक नरहेको तर्क गरे ।

पूर्व अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हेमसागर तिम्सिना र वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) का केन्द्रीय सदस्य यज्ञबहादुर कट्वाल (गणेश) ले स्वतन्त्र उमेद्वारी दिएका छन् । आँफूहरुले पार्टीभन्दा माथि उठेर काम गर्नका लागि स्वतन्त्र उमेद्धारी दिएको तिम्सिनाले बताए । उनले भने, क्याम्पसको सञ्चालक समतिको चुनावमा दलीय राजनीति हुन्छ ? अनि एउटा पोष्ट सेयर गर्दा स्पष्टीकरण माग्ने पनि हुन्छ ? क्याम्पसमा १३ जना सदस्यीय समिति रहेको र आँफूहरु २ जना स्वतन्त्र उठेकै कारण चुनावी प्रतिष्पर्धा हुन लागेको तिम्सिनाले बताए । भोली विहान ८ बजेदेखि ३ बजेसम्म निर्वाचन रहेको छ । जम्मा ५ सय १३ जना मतदाता रहेका छन् ।

0 4