इटहरी : इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीका गाँउगाँउमा विकासको लहर छाएको दावी गरेको छ ।

एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४ महिनामा ३० किलोमिटर बाटो पिच गर्न नसके राजिनामा दिने बताए । इटहरीमा सडक निर्माणको कामले गाँउगाँउमा तिव्रता लिएको बताए । इटहरीका ११ वटा सडक वहुवर्षिय योजना अनुरुप निर्माण हुदैछन् । ती सडक निर्माणपछि गाँउ र मुख्यसडकलाई पिच बाटोले जोडने छ । उपमहानगरका गाँउगाँउका जनतालाई पनि उपमहानगरबासी भएको अनुभूति दिलाउने गरि गाँउका मुख्य मुख्य बाटोलाई कालोपत्रे गर्ने कार्य भइरहेको उनले बताए । काम गर्न समय लाग्छ प्रमुख चौधरीले भने, “तुरुन्तै कामको परिणाम नदेखिन सक्छ तर केहि समयमै इटहरीमा विकासको नयाँ उचाई प्राप्त हुने गरि काम भइरहेको छ ।”

गत बर्ष इटहरी उपमहानगरले करिव सात सय योजना सडक निर्माणको संचालन गरेको थियो । चालु आर्थिक वर्षमा पनि भौतिक संरचना निर्माणलाईनै प्राथमिकता दिएको छ । उनले बाह्य चक्रपथका लागि सहयोग गर्न संघ र प्रदेश सरकार सँग आग्रह गरेको छ । इटहरी उपमहानगरले सो चक्रपथको डिपिआर निर्माणका लागि तीन करोड रुपैयाँ बजेट छुटयाएको छ । इटहरीलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि योजना तयार भइरहेको प्रमुख चौधरीले बताए ।

व्यक्तिले भोगचलन गरेका करोडौमूल्य पर्ने पोखरीहरु उपमहानगर मातहत ल्याएको, सार्वजनिक जग्गा खोजी अभियानलाई तिव्रता दिएको सुनाए । उनले आफू उपमहानगरमा निर्वाचित हुदाँ खाली आएको र जाँदा पनि खालीनै जाने बताए । तर उपमहानगरमा रहेका बेथिती हटाउँदै इटहरीको सम्वृद्धि र विकासलाई भने नयाँ उचाईमा पुरयाउने बताए ।

मेयर चौधरीले चलाएको भ्रष्टाचार विरोधी अभियानलाई संस्थागत गर्दै उपमहानगरको पाँचौ नगरसभाले “सुशासन र सम्वृद्धि हाम्रो अभियान, भ्रष्ट्राचार विहिन सरल, सहज र पहँुचयुक्त इटहरी नगर प्रशासन” नारानै तय गरेको छ । सभाले सुशासन ऐन समेत पारित गरिसकेको छ । इटहरीको सामाजिक, शैक्षिक, आर्थिक र भौतिक विकासका लागि सहयोग गर्न उनले उपमहानगरबासीलाई आग्रह गरे । आफू सँबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाई छ ।