धरान: वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजको नयाँ नेतृत्व चयनको लागि चुनाव हुने भएको छ ।

प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको पेशागत संगठनको नयाँ नेतृत्व चयनको लागि आगामी असोज ३ गते मा चुनाव हुन लागेको हो । यो समाज प्रतिष्ठानको ३२ औं संचालक परिषद(सिनेट)वाट आधिकारिकता हासिल गरेको समाज हो । समाजको नेतृत्व चयनको लागि दोस्रो निर्वाचन हुन लागेको अध्यक्ष सुजेन्द्र तामाङले जानकारी दिए ।

प्रतिष्ठानले कर्मचारीहरुको अधिकार कटौती हुने गरी विधानको मस्यौदा प्रस्तुत गरेपछि उत्पन्न विवादका कारण लामो समयदेखि निर्वाचन हुन सकेको थिएन । आम कर्मचारीहरुको विधान सभाले पारित गरेको समाजको विधान, २०६८ बमोजिम नै अब नयाँ कार्यसमितिको निर्वाचन असोज ३ गते हुने समाजका अध्यक्ष तामाङले बताए । निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालसँगसमेत आवश्यक परामर्श लिइएको उनले बताए ।

विधान बमोजिम निर्वाचन सम्बन्धि सम्पूर्ण कार्य गर्ने गरी सागर ताम्राकार आयुक्त र प्रकाश श्रेष्ठ, संजय भट्टराई, विष्णुकुमारी चौधरी, रोशन कर्ण, सुनिल पराजुली र शिवजी यादव सदस्य रहेको ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको समाजले जनाएको छ । अध्यक्ष तामाङले धरानमा मंसिर १४ गते हुने मेयरको उपनिर्वाचनमा उठ्न राजिनामा दिन लागेकाले चुनावको घोषणा गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

निलम्बन फुकुवा, समाज एकतावद्ध हुने

यद्यपि समाजले यसअघि निलम्वन गरेका पदाधिकारी कर्मचारीहरुको कारवाही फिर्ता गरी निर्वाचन घोषणा गरेसँगै दुई समूहमा विभक्त कर्मचारीहरुमा खुशीयाली छाएको छ । ‘अब हाम्रो एउटै संगठन हुनेछ, र हामी एक हुनेछौं,’एक कर्मचारीले भने । समाजले नेपाल सरकारले वृद्धि गरेबमोजिम तलबभत्ता वृद्धि लगायत आन्तरिक बढुवा, करारको परफरमेन्स करार, परफरमेन्स करारको स्थायी, दैनिक ज्यालादारीको करार सम्बन्धि कार्य दशैतिहार अगावै गर्नुपर्नेलगायतको माग राख्दै आएको छ ।

कर्मचारीको उचित मूल्यांकन, आवास विस्तार तथा व्यवस्थापन, अस्पताल सेवा विस्तार, शैक्षिक कार्यक्रम विस्तार, खानेपानी, सुरक्षा र सरसफाईको प्रभावकारी प्रबन्ध तथा प्रतिष्ठान र समाज वीच भएको २७ बुंदे सम्झौता कार्यान्वयन गर्न र शिक्षक/कर्मचारीको अवकाशमा समान उमेरहदको व्यवस्थाका लागि तत्काल गृहकार्य शुरु गर्नुपर्ने माग पनि अघि सारेको छ ।