धरान: प्रसिद्ध पर्यटकीयस्थल नाम्जे, थुम्कीस्थित सुर्याेदय बुद्ध विहार पुग्ने बाटो विस्तारको क्रममा उत्पन्न विवाद चर्किएको छ । विवाद समाधान हुन नसक्दा साँगुरीगढी गाउँपालिकामा तालाबन्दीसमेत भएको थियो ।

गाउँपालिका अध्यक्ष कुमारजंग याक्खा र उपाध्यक्ष विन्द राईको कार्यकक्षमा स्थानीयले शुक्रबार ताला लगाएका थिए । उक्त ताला आइतबार खुलेर छलफल गरिए पनि विवाद समाधान हुन सकेन । गाउँपालिका अध्यक्ष याक्खाले मंगलबार कार्यपालिका बैठकमा छलफल गरेर आवश्यक निर्णय लिने बताएका थिए । कांग्रेसले दोषीलाई कारबाही नगरे चक्काजाम लगायतका चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

साँगुरीगढी ६, थुम्कीस्थित सुर्योदय बौद्ध विहार जाने पुरानो बाटोलाई स्तरोन्नती गर्नेक्रममा विवाद भएको थियो । पुरानो ३ मिटरको बाटो विस्तार गरी ६ मिटरको बनाउने क्रममा जग्गावाल प्रमोद राईले असन्तुष्टी जनाएका थिए । पुरानो ३ मिटरको बाटो उनकै जग्गाबाट गएको थियो भने उनको सधियारतर्फ ३ मिटर जग्गा काट्नुपर्नेमा ६ मिटर नै उनको जग्गाबाट बाटो लगिएपछि विवाद भएको थियो । सर्वेको क्रममा कार्यपालिका सदस्य तथा न्यायिक समिति सदस्य बालकृष्ण राईले विवाद समाधान गर्नुको साटो एकापटिका जग्गावालको मात्र जग्गा काट्ने गरी काम अघि बढाएपछि विवाद चर्किएको थियो ।

यो विवादमा समाधान गर्न पहल गरिरहेका नेपाली कांग्रेस क्षेत्रीय सभापति एवं भेडेटार होलट एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीलाई बालकृष्णलगायतले विवादमा मुछेपछि बाटोको विवादले उग्ररुप लिएको हो । जग्गावाला प्रमोद राई रुम्दालीका आफन्त पर्छन् । रुम्दालीका अनुसार उनको दाईले ५ मिटरसम्म जग्गा छोड्न तयार हुदा पनि बालकृष्ण राईलगायतले नमानेपछि विवाद समाधान हुन नसकेको हो । यसबारेमा साउन १९ गते न्यायिक समितिमा प्रमोद राईले निवेदन दिएका थिए, तर उनको निवेदन दर्ता पनि हुन सकेन ।

विवाद मिलाएर बाटो निर्माणको लागि मध्यस्थताको भुमिका खेले पनि बालकृष्ण राईले उल्टै गाउँले भेला गरेर अनावश्यकरुपमा पार्टी नेपाली कांग्रेस र संस्था भेडेटार होटल एशोसिएशनलाई पनि मुछेपछि विवाद थप चर्किएर तालाबन्दीसमेत भएको थियो । ‘एकतर्फीरुपमा दाईको जग्गा मात्र काटेर बाटो लगिएछ, त्यो बाटो भत्किएको अवस्थामा पाइएपछि मैले उकासेको भन्दै मलाई छलफलमा नै नबोलाई मआवद्ध भएको संस्था र पार्टीलाइ पनि जोडेर निर्णय गराएछन्,’उनले भने,‘म आवद्ध पार्टी र संस्थाले विकासको काममा कहिल्यै अवरोध गरेको छैन, यो विवाद पनि मैले मिलाउन पहल गरेको हुँ, तर उल्टै झुटो आरोप लगाइएकोले ताला बन्दी गरिएको थियो । आइतबार खोलेर छलफल भयो ।’

छलफलमा बालकृष्ण राई उपस्थित नभएपछि निष्कर्ष निस्किएन । पीडित जग्गाधनी प्रमोद राईको ठिक अगाडिको सधियारको जग्गासँगै कार्यपालिका सदस्य तथा न्यायिक समिति सदस्य बालकृष्ण राईको पनि जग्गा छ । प्रमोदको सधियारको जग्गा काटिएमा उनको पनि बाटोमा जग्गा काटिने भएपछि कार्यपालिका सदस्य बालकृष्ण राईले एकोहोरो एकातर्फका जग्गावाला प्रमोद राईको मात्र जग्गा काटिने गरी सर्वे गराएको खुलेको छ ।

आन्दोलनरत पक्षले उनलाई उपस्थित गराएर माफी मग्नुपर्ने र थुम्कीमा साउन २२ गते भएको भेलाको निर्णय च्यात्नुपर्ने माग गर्दै आएको छ । ‘आज पनि छलफल भयो, तर बालकृष्ण नआएपछि निष्कर्ष निस्किएन,’कांग्रेस क्षेत्रीय सभापति र होटल एशोसिएशनका अध्यक्षसमेत रहेका जितेन्द्र राईले भने,‘गाउँपालिका अध्यक्षले मंगलबार कार्यपालिका बैठकमा छलफल गराएर निकास दिने भनेको छ ।’
गाउँपालिका अध्यक्ष कुमारजंग याक्खाले मंगलबारको कार्यपालिका बैठकमा यो बिषयमा छलफल गर्ने बताए । उनले यो विवादको सबै बिषय बैठकमा छलफल गर्ने र आवश्यक परे कानुनी सल्लाह पनि लिने बताए । ‘सम्बन्धित व्यक्तिलाई पनि बैठकमा ल्याउने पहल गरिरहेको छुँ, कार्यपालिका बैठकबाट आवश्यक निर्णय गछौं, घटनालाई समाधान गर्ने प्रयासमा छुँ,’उनले भने ।