मोरङ: ईलाका प्रहरी कार्यालय रानीको हाताभित्र निर्माण हुन लागेको प्रहरी कार्यालय भवन तथा आवास गृहको शिलान्याश भएको छ ।

उक्त भवनको आज बिहान बिशेष समारोहका बीच १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी(प्रहरी नायव महानिरीक्षक) ठाकुर प्रसाद ज्ञवालीले शिलान्यास गरेका छन् । याँ प्रहरीको पुरानो भवन जिर्ण छ । जसले गर्दा दैनिक काम कारवाहीमा कठिनाई छ । यो समस्या बुझेपछि प्रहरी प्रधान कार्यालयले युएनओपिएस को सहयोगमा ५ कठ्ठा १० धुर क्षेत्रफलमा नयाँ भवन बनाउन लागेको हो । यो भवनको कुल लगात ७ करोड रहेको प्रहरीले जनाएको छ । यहाँ सुविधा सम्पन्न कार्यालय भवन तथा आवास गृहको निर्माण हुनेछ ।

भवनको शिलान्याश पश्चात कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख ज्ञवालीले भवन भन्दा पनि भवनबाट प्रवाह हुने सेवाको गुणस्तरको महत्व बढी हुने बताए । साथै उनले सेवा प्रवाहले प्रहरी कस्तो छ भन्ने देखाउने हुँदा यसवाट प्रवाह हुने सेवाको स्तरमा बृद्धी गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशनसमेत दिए । डिआइजी ज्ञवालीले तोकिएकै समयमा र तोकिएकै मापदण्ड अनुसार निर्माण सम्पन्न भएर भवन हस्तान्तरण हुनेमा आफु बिश्वस्त रहेको बताए । उनले निर्माणकर्तालाई सम्झौता बमोजिमकै समय र मापदण्डमा निर्माण सम्पन्न गर्न पनि आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी(प्रहरी उपरीक्षक) बिश्व अधिकारीले कानून कार्यान्वयन नभएसम्म मानव सभ्यताको विकास नहुने बताए । समाजमा शान्ति सुरक्षा कायम गर्न र सभ्यताको विकास गर्न पहिलो अवश्यकता प्रहरी र सुरक्षा भएको बताए । उनले प्रहरी प्रविधिमैत्री र सुबिधा सम्पन्न हुनुको बिकल्प नरहेको पनि बताए ।