धरान: धरान १५ स्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई आवासमा बस्न दिनुपर्ने माग गर्दै प्रअको कार्यकक्षमा तालाबन्दी भएको छ ।

आफुसँग सरोकार नै नभएको बिषयमा कक्षा १० भन्दा मुनिका विद्यार्थीहरुले हिजो मंगलबार तालाबन्दी गरेका हुन् । मंगलबार व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक संघ, धरान उपमहानगरपालिका शिक्षा महाशाखा, वडा नं १५का जनप्रतिनिधिसहितको बैठकले कक्षा ११ र १२ का विद्यार्थीलाई आवासिय सुविधा दिएर स्कुलमा राख्न नसक्ने निर्णय गरेको थियो । सोही निर्णयको विरोधमा विद्यार्थीहरुले प्रअ प्रमोद भण्डारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

प्रअ भण्डारीका अनुसार यो विद्यालय कक्षा १० सम्म मात्र स्वीकृति मिलेकोले कक्षा ११ र १२ का विद्यार्थीलाई कानुनीरुपमा पनि आवास दिएर राख्न सकिदैन । व्यवहारिकरुपमा पनि कुनै घटना भएमा जिम्मेवारी कस्ले लिने भन्ने समस्या हुन्छ । 'पहिलो कुरा त कक्षा ११ र १२ को अनुमति नै छैन, त्यसैले आफ्नो कक्षा नभएको विद्यार्थीलाई विद्यालयमा राख्न कानुनीरुपमा मिल्दैन, भोली भवितव्य केही भएमा झन् गाह्रो हुन्छ । विद्यालयलाई आर्थिक बोझ पनि हुन्छ,'प्रअ भण्डारीले भने,'त्यसैले संयुक्त बैठकबाट नै नराख्ने निर्णय गरिएको हो । तर, आफुसँग सरोकार नै नभएको कक्षा १० र मुनिका विद्यार्थीहरुले ताला लगाए ।'

विद्यालयलाई आउने प्रायोजन बन्द भएपछि राख्न समस्या भएको प्रशासनको भनाई छ । पुर्वप्रअ केशरी थापा र व्यवस्थापन समितिको आग्रहमा यसअघि भने विद्यालयले कक्षा ११ र १२ का विद्यार्थीहरु आवासमा राखेको थियो । अब भने राख्न नसकिने जनाएको छ । साउन २६ गते पनि प्रअको कार्यकक्षमा तालाबन्दी भएको थियो । यो बिषयमा साउन २८ गते छलफल हुने भएपछि ताला खोलिएको थियो । कक्षा ११ र १२ मा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरु धरानका अन्य विद्यालयहरुमा अध्ययनरत छन् ।