धरान: साविक माओवादीमा सदस्य विवादले स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरान उपमहानगर कमिटिको सपथ ग्रहण भदौ ३ गते हुने भएको छ ।

कार्यदलले सिफारिश गरेको नाम हटाएर प्रदेश कमिटिबाट फरक २ जना सदस्यको नाम थपेर आएपछि साविक माओवादीभित्र विवाद भएको थियो । उक्त विवादले साउन १९ गते तय भएको नेकपा धरानको सपथ ग्रहण नै रोकिन पुगेको थियो । सपथ ग्रहण रोकिए पछि साविक एमालेले आफ्नो अलग्गै नगर भेला र वडा ८ को भेला गरेको थियो । सपथ ग्रहण रोकिदा पार्टी एकीकरण प्रक्रिया नै अलमलमा परेको र साविक एमालेको अलग्गै भेला हुन थालेपछि गुटबन्दी शुरु भएको चर्चा व्यापक भएपछि साविक माओवादी नेतृत्वलाई विवाद समाधान गर्न तीब्र दबाब परेको थियो ।

हिजो बुधबार नेकपा जिल्ला अध्यक्ष योगेन्द्र मण्डल(पप्पु) र धरानका साविक माओवादी केन्द्र तर्फका जिल्ला सदस्यहरुबीच छलफल भएको थियो । उक्त छलफलमा अध्यक्ष मण्डलले प्रदेश कमिटि नेतृत्वसँग भएको छलफलबारे जानकारी गराएका थिए । छलफलमा सहभागी साविक माओवादीका एक नेताका अनुसार नाम परिवर्तनबारे प्रदेश नेतृत्वले कमीकमजोरी भएको भन्दै आत्मालोचना गरेको बारेमा जानकारी गराएका थिए । सोही छलफलपछि नै भदौ ३ गते सपथ ग्रहणको मिति प्रस्ताव गरिएको पनि ती नेताले बताए ।

यसअघि, धरान उपमहानगर सदस्यको नामावाली जिल्ला कार्यदलले सिफारिस गरेकोमा प्रदेशले आफु खुसी हटाई नगर सदस्य समेत नभएको व्याक्ती राखेको भन्दै असन्तुष्ट जिल्ला सदस्यहरुले सच्याउन असार २० गते जिल्ला र प्रदेश कमिटिमा निबेृदन दिएका थिए । यही कारण नेकपा धरानको सपथ रोकीएको थियो ।