धरान : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कश्मीरमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको बताएका छन्।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको वर्तमान अध्यक्ष भए तापनि नेपालले यस क्षेत्रमा विकसित तिक्तता र द्वन्द्वको स्थितिबारे नबोलेको भन्दै कतिपयले प्रश्न उठाइरहेका बेला सोमवार मन्त्रालयकै कार्यकक्षमा पत्रकारहरूसँग बोल्दै उनले यो मामिलामा नेपालको खासगरी दुईवटा चासो रहेको बताए।

उनले कश्मीर क्षेत्रमा विभिन्न ठाउँमा कार्यरत नेपालीहरूको स्थितिबारे नेपाल चिन्तीत एवम् सजग रहेको बताएका छन । त्यसैगरी क्षेत्रीय शान्ति र स्थिरताबारेमा पनी नेपालको चासो र चिन्ता बताएका छन । उनले दिल्लीस्थित नेपाली दूतावास भारत सरकारसँग निरन्तर सम्पर्कमा रहेको र कस्मीर तथा त्यस क्षेत्रमा रहेका नेपालीलाई हालसम्म कुनै अप्ठेरो परेको जानकारी नआएको मन्त्री ज्ञवालीले बताए। मन्त्री ज्ञवालीले निकै कूटनीतिक भाषा प्रयोग गर्दै नेपालले केवल क्षेत्रीय शान्ति र स्थिरता नखलबलियोस् भन्ने चाहेको बताए।

"नेपाल सदैव छिमेकमा शान्ति र स्थिरताको पक्षमा छ र यो क्षेत्रमा पनि शान्ति र स्थिरताको पक्षमा छ। समस्याहरू आउँदा तिनीहरूको वार्ताबाट समस्या समाधान हुनसक्छ भन्ने हाम्रो विश्वास छ। भारतको नेतृत्वमा ती कुराहरूको समाधान गर्ने क्षमता छ भन्ने पनि हामीलाई विश्वास छ। क्षेत्रीय शान्तिमा कहीँकतै प्रतिकूल प्रभाव पर्नेछैन भन्ने हामीले आशा गरेका छौँ। सार्कको अध्यक्षको हिसाबले हामी त्यही सन्देश प्रवाहित गर्न चाहन्छौँ " उनले भने।

बिबिसि नेपालीको सहयोगमा