धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को धरान उपमहानगर कमिटिको सपथ ग्रहण बुधबार सम्पन्न भएको छ ।

धरान १५ स्थित चुम्लुङ हिममा आयोजित कार्यक्रममा उपमहानगर कमिटि सदस्यहरुलाई नेकपा स्थायी कमिटि सदस्य तथा १ नं प्रदेश इञ्चार्ज भीम आचार्यले सपथ खुवाएका थिए । धरानको सपथ ग्रहणसँगै सुनसरी जिल्लाको १२ वटै स्थानीय तहमा नेकपाको एकता प्रक्रिया सकिएको छ । यसअघि, साविक माओवादी पार्टीभित्रको आन्तरिक विवादले धरानको सपथ ग्रहण रोकिएको थियो । साउन १९ गते नै सपथ ग्रहणको मिति तोकिए पनि प्रदेश कमिटिबाट २ जना साविक माओवादीका सदस्यको नाम हेरफेर हुदा विवाद सृजना भएको थियो ।

Nekapa2jpg

नेकपाको धरान उपमहानगर कमिटि कुल १०१ सदस्यीय बनेको छ । यो कमिटिमा साविक एमालेबाट अध्यक्षसहित ६१ जना छन् भने साविक माओवादीबाट सचिवसहित ४० जना रहेका छन् । नेकपा धरानको अध्यक्ष साविक एमालेबाट नारायण सुवेदी भएका छन् भने सचिवमा साविक माओवादीबाट सुर्दशन श्रेष्ठ भएका छन् ।

सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै नेकपा नेताहरुले संगठन मजबुद बनेको दाबी गर्दै धरानमा आगामी मंसिर १४ मा हुने निर्वाचनमा बहुमत ल्याउने गरी तयारीमा जुट्न पनि निर्देशन दिए । समारोहका प्रमुख अतिथि एवं नेकपा स्थायी कमिटि सदस्य आचार्यले एकता पछि पनि पार्टीलाई थुप्रै चुनौतीहरु भएको उल्लेख गर्दै अवसर पनि सँगसँगै भएको बताए । ‘चुनौतीकै बीच अवसर र सम्भावना पनि छ । पार्टी एक भएको छ, स्थिर सरकार छ र जनतामा कम्युनिष्ट पार्टीप्रति नै विश्वास र भरोसा छ,’नेता आचार्यले भने,‘देश र जनताको आकांक्षा चुलिएको छ, तर हामीसँग सिमित स्रोत साधन छ, जनताको अपेक्षालाई पुरा गर्दै जानुछ ।’ नेकपाको १ नं प्रदेश सहइञ्चार्ज सावित्रीकुमार काफ्लेले कसले कुन पाद पायो भन्ने ध्यान नदिई संगठन मजबुत बनाउन र जनताप्रति उत्तरदायी हुन निर्देशन दिए ।

Nekapa1

नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज धर्मराज निरौलाले चाडै वडा र टोल कमिटिहरुलाई पनि पुर्णता दिन निर्देशन दिए । संघीय सरकारको कृषि तथा पशुपंक्षी राज्यमन्त्रीसमेत रहेकी जिल्ला सहइञ्चार्ज रामकुमारी चौधरीले मंसिर १४ को चुनाव जित्ने गरी एकतावद्ध भएर जुट्न निर्देशन दिइन् । कार्यक्रममा संघीय सांसद जयकुमार राई, नेकपा केन्द्रीय सदस्य निर्मल वराल, प्रदेश कमिटि सदस्यहरु मुक्साहाङ मेन्याङ्बो, विजय राई, अइन्द्रबिक्रम बेघालगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।