धरान:  राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशी मगरले मुलुकबाट भ्रष्टचारलाई नियन्त्रण होइन, निर्मुल पार्नुपर्ने बताएका छन् । साथै उनले विकास गर्न नभै भ्रष्टचार गर्न सरकारले गरिब जनतालाई पनि कर तिराएको पनि आरोप लगाए ।

राष्ट्रिय जनमुक्ति पार्टी धरान उपमहानगर समितिले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा मगरले यस्तो बताएका हुन् । उनले बैदेशिक ऋणको भरमा चलेको देशमा भ्रष्टचारले गर्दा नाजुक बन्दै गएको बताए । देशमा गरीबिको संख्या वृद्धि हुनुको मुख्य पक्ष नै भ्रष्टचार भएको बताए । साथै उनले देशको युवा शक्तिलाई देशमा उपयोग गर्न नचाहने शक्तिहरु सरकारमा हालीमुहाली भएको कारण नै आज देशको स्थिति कमजोर हुँदै गएको बताए ।

नेता मगरले अब युवा विद्यार्थीहरुले सरकारको गैरजिम्मेवारपन विरुद्ध उभिनुपर्ने पनि उनले धारणा राखे । सरकारले बिकास गर्नको लागि नभै भ्रष्टचार गर्नको लागि चट्पटे बेच्नेलाई समेत कर तिराउन थालेको नेता मगरको गम्भीर आरोप थियो । सरकारको यो कदमविरुद्ध जनता उभिनुपर्ने धारणा राख्दै उनले संविधानमै भ्रष्टचारीलाई देशद्रोह सरहको कानुन बनाउन जनदवाब आवश्यक रहेको पनि बताए । भ्रष्टचार निर्मुल पार्नको लागि छुट्टै बिशेष अधिकारसहितको स्वतन्त्रत नागरिक अदालतको स्थापना गर्न आवश्यक रहेको पनि उनको भनाई थियो ।

नाम मात्रको संघीयता जारी गर्ने एकात्मक राज्य ब्यवस्थाका नाईकेहरुले स्थानीय र प्रदेश सरकारलाई कमजोर बनाउदै दुईतिहाई अधिकार केन्द्र सरकारमा राखेको बताए । अधिकार केन्द्रीकृत गरेकै कारण संघीयताको अपव्याख्या र संघीयता विरोधीहरु सल्बलाउन थालेको मगरले बताए । उनले संघीयता चाहने शक्तिहरु एकजुट हुन आवश्यक भएको पनि बताए । कार्यक्रमको अध्यक्षता उपमहानगर कमिटि अध्यक्ष चित्र थापामगरले गरेका थिए भने कार्यक्रम प्रदिप नयोङ्ले सन्चालन गरेका थिए ।