धरानः नेपाली कांग्रेस धरान उपमहानगर कमिटिले आगामी मंसिर १४ गतेको उपनिर्वाचन लक्षित गरेर धरानमा दुई दिने वृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

धरान ८ स्थित गोर्खा डिर्पाटमेन्ट स्टोरमा हिजो शुरु भएको प्रशिक्षण आजसम्म हुनेछ । कार्यकर्ता मेला तथा प्रशिक्षण कार्यक्रमको शनिबार पुर्वअर्थमन्त्री तथा केन्द्रीय सदस्य महेश आचार्यले गरेका थिए । कार्यक्रममा धरानका २० वटै वडाका अगुवा महिला तथा वडास्तरका कार्यकर्ताहरु सहभागी छन् । कांग्रेस धरान उपमहानगर सभापति तिलक राईका अनुसार प्रशिक्षण आगामी चुनाव लक्षित हो भने संगठन सुदृढिकरण गर्ने पनि प्रमुख उद्देश्य हो । 'चुनाव लक्षित नै प्रशिक्षण हो, साथै संगठन सृदृढिकरणसँगै नेतृत्व विकास पनि गराउन प्रशिक्षण गरिएको हो,'सभापति राईले कपुरीन्यूजसँग भने ।

धरानसहित मुलुकका विभिन्न स्थानमा रिक्त रहेको प्रतिनिधिसभा, प्रदेशसभा सदस्य, गाउँ तथा नगरपालिका प्रमुख र वडाअध्यक्षहरुको पदपूर्तिको लागि आगामी मंसिर १४ मा उपनिर्वाचन हुदैछ । निर्वाचन आयोगले उपनिर्वाचतको तयारी थालेपछि धरानमा राजनीतिक दलहरुको चुनावी गतिविधि ह्वात्तै बढेको छ ।

congress1

अगुवा कार्यकर्ताहरुलाई प्रतिनिधिसभामा कांग्रेसकी प्रमुख सचेतक एवं केन्द्रीय सदस्य पुष्पा भुसाल, केन्द्रीय सदस्य धनराज गुरुङ, कांग्रेस जिल्ला सदस्य वीरेन्द्र झा, राजविमल श्रेष्ठलगायतले प्रशिक्षण दिइरहेका छन् । शनिबार उद्घाटन समारोहमा बोल्नुहुदै नेता महेश आचार्यले वर्तमान सरकारमा बहुमतको दम्भ भएको आरोप लगाए । साथै उनले प्रधानमन्त्रीको यो दम्भले लोकतन्त्र नै खतरामा भएको पनि धारणा राखेका थिए ।