धनुषा : प्रदेशसभा गठनको डेढ वर्षपछि प्रदेश २ को नामकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढे पनि दलहरुभित्रै मतान्तर बढेपछि यो विषय पेचिलो बन्ने देखिएको छ ।

प्रदेश स्थायी राजधानी र नामका विषयमा सत्तारुढ दल तथा प्रतिपक्षी भूमिकामा रहेका नेकपा र नेपाली कांग्रेसभित्रै फरकफरक मत देखिएको छ । सत्तारुढ समाजवादी पार्टी र राजपा तथा कांग्रेस सांसदले नाम तथा राजधानीबारे छुट्टाछुट्टै प्रस्ताव दर्ता गराए भने नेकपाभित्र आन्तरिक विवाद छ ।

प्रदेश नाम र राजधानीबारे प्रस्ताव दर्ता गराउन बिहीबारसम्मको म्याद तोकिएको थियो । म्यादभित्र प्रदेशसभा सचिवालयमा दर्ता भएका प्रस्तावलाई प्रक्रियामा समावेश गराउन सभामुख सरोजकुमार यादवले शनिबार प्रदेशसभा बैठक बोलाए । प्रस्ताव दर्तालगत्तै दलीय सहमतिको प्रयास थालिए पनि शनिबारसम्म मिल्न सकेन । बैठक बस्न केही घण्टा बाँकी रहँदा दलहरुकै आग्रहमा ‘अर्को सूचना जारी नभएसम्मका लागि’ भन्दै सूचना टाँस गरी बैठक स्थगन गरियो । –नागरिक दैनिकबाट