धरान: आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिकामा नयाँ ४ हजार हाराहारीमा मतदाता थपिने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार गत साउन १६ गतेसम्म मतदाता नामावली संकलन भएको थियो । त्यसदिनसम्मको नामावली प्रकाशत हुदा विगतको तुलनामा करिब ४ हजार मतदाताहरु थपिने अनुमान निर्वाचन कार्यालयको रहेको छ । गएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा धरानमा ८९ हजार ५ सय ४९ मतदाता रहेका थिए । आगामी मंसिरमा हुने उपनिर्वाचनमा भने करिब ९३ हजार ५ सय हाराहारीमा मतदाता हुने निर्वाचन कार्यालय सुनसरीले जानकारी दिएको छ ।

मतदाता बढेपछि मतदान केन्द्र पनि थपिने निर्वाचन कार्यालयको भनाई छ । गत निर्वाचनमा २८ मतदान स्थल र ९८ मतदान केन्द्र रहेको थियो । धरानका मेयर तारा सुब्बाको निधन पछि मेयर पद खाली रहेको छ भने वडा नं ७ को अध्यक्ष भुवन मोक्तानको निधन भएकोले त्यहाँ पनि अध्यक्ष पद रिक्त छ । धरानमा मंसिर १४ मा यी दुवै पदमा मतदान हुनेछ । गएको स्थानीय तह निर्वाचनमा मेयर, उपमेयरसहित १४ वडामा साविक एमालेले जित हासिल गरेको थियो । धरानको वडा नं १, २, ५, १४ र १८ मा कांग्रेसले जितेको थियो भने वडा १७ मा साविक माओवादी केन्द्रले जितेको थियो ।

निर्वाचन आयोगले हालसम्म रिक्त गरेको प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र गाउँपालिका, नगरपालिकाको प्रमुख,उपप्रमुख र वडाध्यक्षसम्मको पदको लागि मंसिर १४ मा निर्वाचन गर्ने निर्णय गर्दै तयारीमा जुटिसकेको छ । आयोगले निर्वाचन गर्ने तयारी गरेपछि धरानमा पनि राजनीतिक दलहरुको चुनावी गतिविधिहरु बढेको छ ।